थाइल्यान्डमा भएको आम निर्वाचनमा सैन्य समर्थित दलकाे अप्रत्यासित नतिजा

नयाँ पाइला
४ हप्ता पहिले
थाइल्यान्डमा भएको आम निर्वाचनमा सैन्य समर्थित दलकाे अप्रत्यासित नतिजा

एजेन्सी, ११ चैत । थाइल्यान्डमा भएको आम निर्वाचनमा सैन्य समर्थित दलले अप्रत्यासित नतिजा हात पारेको छ । हिजो भएको आमनिर्वाचनको ९० प्रतिशत मतगणना सकिँदा सैन्य समर्थित दल पालाङ प्रचारथ पार्टीले अप्रत्यासित अग्रता हासिल गरेको हो ।

सेनाले शक्ति आफ्नो हातमा लिएपछि भएको पहिलो निर्वाचनमा पालाङ प्रचारथ पार्टीले अहिलेसम्म ७६ लाखभन्दा बढी मत पाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २००१ देखि वर्चस्व कायम गर्दै आएको पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी फेउ थाई मतान्तरमा निकै पछाडि छ । सैन्य समर्थित दल पालाङ प्रचारथ पार्टीले बहुमत हासिल गरे वर्तमान नेता जनरल प्रयुथ चान ओखाले फेरि सरकारको नेतृत्व गर्नेछन् ।

जनरल ओखाले सन् २०१४ मा थाक्सिनकी बहिनी यिङ्लुक सिनावात्रालाई पदच्युत गर्दै सत्ता आफ्नो हातमा लिएका थिए । यसअघि अप्रत्यासित नतिजा हात पारेको पालाङ प्रचारथ पार्टी चुनावमा तेस्रो हुने प्रक्षेपण गरिएको थियो ।

तपार्इको प्रतिक्रिया