बेनीमा तीनदिने निःशुल्क आँखा शिविर

नयाँ पाइला
१ महिना पहिले
बेनीमा तीनदिने निःशुल्क आँखा शिविर

गलेश्वर, ३ चैत। म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ६०० बढी आँखाका बिरामी लाभान्वित भएका छन् ।

शिविरमा ८२ जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । ‘हामी नेपाली’ काठमाण्डौँको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौँको व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा उपचार हुन नसकेका ९ जना जटिल बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा सिफारिस गरिएको शिविरका संयोजक एवं नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा कल्याण ढुङ्गानाले जानकारी दिए।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माको नेतृत्वमा १० चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएका धेरै जसो बिरामीको दृष्टि दोषको समस्या रहेको र उनीहरूलाई चस्मा लगाउन आवश्यक देखिएको शिविरका प्रमुख चिकित्सक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माले बताए।

तपार्इको प्रतिक्रिया