बादी समुदायलाई नगरपालिकाले जग्गा किन्ने

नयाँ पाइला
३ हप्ता पहिले
बादी समुदायलाई नगरपालिकाले जग्गा किन्ने

काठमाडौँ, २२ फागुन। दिपायलमा रहेका बादी समुदायलाई बास बस्नसमेत घरबास नभएपछि दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा किन्ने भएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल क्षेत्रमा रहेका बादी समुदायको व्यवस्थित बसोबास गर्ने उद्देश्यले नपाले जग्गा किन्ने भएको हो ।

नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन बादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने नगरपालिकाको योजनाअनुसार जग्गा किन्ने तयारी भई प्रक्रिया अघि बढेको नगरप्रमुख मञ्जु मलासीले बताए।

उनले भने, “बादी समुदायको व्यवस्थापनका लागि जग्गा किन्ने प्रक्रिया शुरु भइसकेको छ, केही समयमै भूमिहीन बादीले आफ्नै नामको जग्गा पाउनेछन् ।” नगरपालिकाले जमीन खरीद गरेपछि त्यसमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्ने गरी काम अघि बढाइएको नपाका कार्यकारी प्रमुख भोजराज शर्माले बताए।

बादी समुदायका परिवार अहिले दिपायल सिलगढी–४ स्थित सेती प्राविधिक शिक्षालय नजिकै अस्थायी टहरा बनाएर बस्दै आएका छन् । उचित आवासको व्यवस्था, बालबालिकाका लागि शिक्षा, सीपमूलक तालीम, अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गर्नुपर्ने मागसहित बादी समुदायले नगरपालिकासमक्ष माग गर्दै आएका छन् ।

उनीहरु नाच्ने, गाउने, मादल बनाउने, माटाका भाँडा बनाउनेलगायत काम गरी जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा बादी समुदायका १०४ परिवार रहेका छन् ।

तपार्इको प्रतिक्रिया