प्रदेश ५ः प्रतिपक्ष गैरजिम्मेवार बनेको सत्तापक्षको आरोप

नयाँ पाइला
१ महिना पहिले
प्रदेश ५ः प्रतिपक्ष गैरजिम्मेवार बनेको सत्तापक्षको आरोप

रुपन्देही, २४ माघ। कार्यसूचीमै नभएको विषयमा कांग्रेसले प्रदेश न. ५ प्रदेशसभाको बैठक अवरुद्ध गरेको भन्दै सत्तापक्षका सदस्यहरुले विरोध गरेका छन् ।

यसअघि मङ्गलबार बसेको बैठक कांग्रेसका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण स्थगन भएपछि प्रदेशसभाको आजको बैठकमा यो विषयले प्रवेश पाएको हो ।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रतिपक्ष गैरजिम्मेवार बनेको आरोप लगाए । “प्रतिपक्ष गैरजिम्मेवार बन्यो, सदनमा के बोल्ने के नबोल्ने भन्ने विषयमा हेक्का हुनुपर्छ”, उनले भने।

सदस्य खरेलले सदनमै अमर्यादित भाषा प्रयोग गरेर नाराबाजी गरेर कांग्रेसले सभाको मर्यादामा आँच आउने काम गरेको टिप्पणी गरे । उन प्रदेशभित्रका विषय मात्रै सदनमा उठाउन सुझाव दिए ।

यसअघि मङ्गलबार बसेको बैठक कार्यसूचीमै नभएको विषयलाई लिएर प्रतिपक्षी दलका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । प्रदेश राजधानीको टुङ्गो लगाउन बनेको विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्य थप गर्ने चलखेल भएको भन्दै प्रतिपक्षी दल कांग्रेसका सदस्यहरुले बैठकमा विरोध गरेका थिए ।

बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सहमतिमा अघि बढ्न सरकारलाई सुझाव दिए।

तपार्इको प्रतिक्रिया