मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

नयाँ पाइला
२ महिना पहिले
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

काठमाडौँ, २३ माघ। महानगरीय प्रहरी वृत्त थिमिले चालु आर्थिक वर्ष २०७५/७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । वृत्तका अनुसार हप्तामा दुई÷चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ ।

हराएकामध्ये महीनामा पाँच/सातवटा मोबाइल फेला पर्ने गरेको छ । प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ ।

पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासको लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए।

उनका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ । मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उनले बताए ।

मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको प्रनाउ केसीले बताए।

“मोबाइल धनीले हराएको भनी निवेदन दिएको छ भने फेला परेपछि मोबाइल धनीलाई बोलाएर हस्तान्तरण गर्छौं । चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,” उनले भने।

तपार्इको प्रतिक्रिया