लागुऔषध कारोवारमा संलग्न ६ जना पक्राउ

नयाँ पाइला
२ महिना पहिले
लागुऔषध कारोवारमा संलग्न ६ जना पक्राउ

पर्सा, २१ माघ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै अभियुक्तलाई आजै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा वीरगञ्जको रानीघाटबाट ११ किलो चरेससहित रामबालकप्रसाद विण, मकवानपुर थाहा नगरपालिका– ८ निवासी सोमाल थिङ्ग र भारतको कानपुर निवासी मयङ्क बाजपेईलाई नियन्त्रणमा लिइएको छ ।

आज १० किलो चरेससहित वीरगञ्ज महानगरपालिका–१६ बाट भारत उत्तर प्रदेश प्रतापगढ निवासी मैनुदिन अन्सारी र भारत विहार मोतिहारी निवासी अमरुल्लाह अन्सारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

त्यस्तै वीरगञ्जको इनर्वाबाट नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ निवासी दिपेन्द्र पनेरुलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताए।

यसैबीच आज ठोरी गाँउपालिका–२ बाट लु १ ख ३३१० नं को ट्रकबाट नौ गाठ कपडा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ट्रकधनी चितवन माडी– २ निवासी ऋषि सुवेदी, चालक कुमार राई र सहचालक सुजन राईलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद भएको कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

तपार्इको प्रतिक्रिया