नेपाली राष्ट्रियता प्रवद्र्धनमा क्रिकेटको भूमिका

धर्मेन्द्र झा
२ महिना पहिले
नेपाली राष्ट्रियता प्रवद्र्धनमा क्रिकेटको भूमिका

जनकपुर, २० माघ। एकदिवसीय क्रिकेट खेल्ने देशहरुको समूहमा परेपछि नेपालले युएइसँग खेलेको पहिलो सिरिजमा जित हात पार्यो । निश्चय पनि यो नेपाल र नेपालीका लागि ठूलो उपलब्धिको कुरा थियो । यो जितमा सम्पूर्ण देशले खुसियाली मनायो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर सातका वडाध्यक्षको सक्रियतामा जनकपुरमा पनि खुसियाली मनाइयो । झट्ट हेर्दा यो कार्य खासै विचार गर्न योग्य नहुन सक्छ तर मिहीन ढंगले विश्लेषण गर्ने हो भने जनकपुरमा मनाइएको क्रिकेटको खुसियालीको निकै ठूलो भावनात्मक महत्व छ । एक समय थियो, जब राष्ट्रिय क्रिकेट टिममा कप्तानलगायत आठ जनासम्म खेलाडी जनकपुरका हुने गर्थे तर आज यो स्थिति छैन ।

यसको अर्थ जनकपुरमा क्रिकेटको क्रेज कम भएको हो भन्न सकिँदैन बरु क्रेज बढेकै छ भन्ने कुरा युएइसँग जितेपछि यहाँ मनाइएको विजयोत्सवले प्रमाणित गरेको छ । यतिमात्र होइन, युएइसँगको पहिलो टि ट्व्यन्टी प्रतिस्पर्धामा नेपालका सन्दीप जोराले सबभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाए । यसै गरी टि ट्व्यन्टीको दोस्रो प्रतिस्पर्धामा नेपालले विजय हात पार्यो । यी दुबै सन्दर्भमा पनि सम्पूर्ण नेपालीले विजयोत्सव मनाए । यसमा पनि जनकपुर सहभागी भयो ।

यी विजयोत्सवको महत्व नेपालको राष्ट्रियता प्रवद्र्धनसँग पनि जोडिएको छ भनेर भनियो भने त्यो अनुचित हुने छैन । विभिन्न देशमा राष्ट्र जोडने राष्ट्रियताका विविध प्रतीकलाई आमजनताले स्वीकार गरेका हुन्छन् । दक्षीण एसियाली देशहरु भारत, पाकिस्तान र श्रलिंकामा अन्य धेरै यस्ता प्रतीक छन्, एक प्रतीक भने क्रिकेट हो । यस्तै राष्ट्र जोडने एक प्रतीकका रुपमा नेपालमा पनि क्रिकेटप्रतिको स्वीकृतिमा बढोत्तरी भएको पाउन सकिन्छ । नेपालमा पञ्चायतकालमा राष्ट्रियताका अनेक प्रतीकको विकास गर्न खोजियो । यसमा ढाका र भाद गाउँले टोपी, झण्डा, गाई आदी प्रमुख थिए । यस्तै प्रतीकका रुपमा सगरमाथालगायतका हिमालहरुको पनि प्रयोग गर्ने गरेको पाइन्छ ।

तर वास्तवमा विश्लेषण गर्ने हो भने यी मध्ये कुनैले पनि राष्ट्रियरुपमा आमस्वीकृति प्राप्त गर्न सकेनन् । यसका अतिरिक्त राष्ट्रियताको प्रतीक बन्न सक्ने सम्भावना रहेको बुद्ध, जानकीलगायतलाई विगतमा खासै महत्व दिइएको पाइएन । क्रिकेटलाई त जहिले पनि भारतको खेल भनेर पन्छाइयो र फुटवललाई अन्तर्राष्ट्रिय खेलका रुपमा स्वीकार गरियो । यस खेलमा लगानी पनि निकै ठूलो गरिएको हो तर खासै उपलब्धि प्राप्त हुन सकेन । यसविपरित क्रिकेटमा जनस्तरको रुची र लगानी रह्यो । प्रतिफल अहिले प्राप्त भइरहेको छ, कुनै न कुनैरुपमा यो राष्ट्रियताको प्रतीक बन्दैछ र आमनेपालीबाट स्वीकृति प्राप्त भइरहेको छ ।

वास्तवमा राष्ट्रनिर्माण एक प्रक्रिया हो जो कुनै न कुनैरुपमा सँधै नै निरन्तर जारी रहन्छ । राष्ट्रनिर्माणलाई सुक्ष्मरुपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुईवटा सन्दर्भमा हेर्न सकिन्छ । पहिलो, समग्रमा राष्ट्रनिर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्रलाई समुन्नत र सम्वृद्ध बनाउने कुरा । तर उपर्युक्त दुवैमा एउटा कुराको समानताको अपेक्षा गरिन्छ । त्यो के भने त्यहाँ वसोवास गर्ने जनताको इच्छा—आकांक्षा, समाज, धर्म—संस्कृति, भाषा—साहित्य आदीको समान स्वीकृति र प्रस्फूटनको अवस्था निर्माण हुनु अपेक्षित हुन्छ । राष्ट्रनिर्माणको सम्बन्ध खास भूगोलको राष्ट्रियतसँग छ । यी विषयहरु तिनले निर्माण गर्न चाहेको तिनका राष्ट्रिय पहिचानसँग पनि सम्बन्धित छन् र यसको निर्माणका लागि राज्यको शक्ति प्रयोग हुने वा गर्ने सोच निहीत हुन्छ । यस दृष्टिले पनि क्रिकेट महत्वपूर्ण छ । अर्कोतर्फ, राष्ट्रनिर्माणको सम्बन्ध आर्थिक र भौतिक विकास तथा त्यस्ता विकासमा सबैको सहभागिता एवं प्रतिफलको उचित र समान सदुपयोगसँग पनि छ । त्यस्तै मानवअधिकारको प्रत्याभूति र संरक्षणसँग पनि राष्ट्रनिर्माणको सन्दर्भ जोडिएको हुन्छ ।

यसरी हेर्ने हो भने हामीकहाँ माथि उल्लेख गरिएजस्तै राष्ट्रनिर्माणको दुवै सन्दर्भको उपस्थिति रहेको पाउन सकिन्छ । यसैआधारमा कतिपयले नेपाल अझै राष्ट्रनिर्माणको प्रक्रियामै रहेको भन्ने गरेका छन । सारमा यस विश्लेषणका आधारमा, विद्वान पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ । उनले राष्ट्रनिर्माणलाई राष्ट्रको संरचना वा गठन पनि भनेका छन् । उनका अनुसार वृहत प्रक्रियाहरुका माध्यमबाट राष्ट्र बन्छ । राष्ट्रनिर्माणको लक्ष्य राज्यभित्र जनताहरुको एकीकरण हो यसबाट अगाडीका दिनमा राज्यले राजनीतिकरुपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ । राष्ट्रनिर्माणको सम्बन्ध त्यहाँको भूगोलहरुमा रहेको विविध राष्ट्रियताहरुलाई समाहित गरी सिंगो राष्ट्रियता निर्माण गर्नुसँग पनि छ भनियो भने अतिशयोक्ति हुँदैन । निष्कर्षमा भन्ने प्रयास गर्ने हो भने राष्ट्रनिर्माणका लागि जनताहरुको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शहरुको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेका समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ ।

राष्ट्रियता राष्ट्रनिर्माणको महत्वपूर्ण अवयव हो भनेर स्वीकार गरिरहँदा यसलाई बुझ्ने दृष्टिकोणमा व्यापकता अपरिहार्य छ । सामान्यतया राष्ट्र, राज्य र देशलाई हामीकहाँ एकै अर्थमा बुझ्ने गरिन्छ जो धेरै हदसम्म दोषपूर्ण छ । यी तीनै शव्दलाई एकअर्काको पर्यायवाचीका रुपमा बुझ्ने प्रयत्न गर्दा समग्र राष्ट्रियता र राष्ट्रनिर्माणको प्रक्रिया नै दोषपूर्णरुपमा अपव्याख्या हुने खतरा रहन्छ । हामी कुनै न कुनै रुपमा यस्तै खतरासँग पौंठाजारी खेलिरहेका छौं । वास्तवमा राष्ट्र, राज्य र देश फरकफरक अर्थमा उभिएका फरकफरक शव्द हुन । राष्ट्र सांस्कृतिक एकाई हो । यस्तै राज्य प्रशासनिक र राजनीतिक एकाई हो भने देश भौगोलिक एकाई हो । अंग्रेजीमा यी तीनवटै शव्दको अनुवाद क्रमशः नेशन, स्टेट र कन्ट्री हो ।

यस आधारमा राष्ट्रनिर्माणलाई बुझ्ने प्रयत्न गर्ने हो भने एउटा राजनैतिक भौगोलिक सीमाभित्र सांस्कृतिकरुपमा जनता(राष्ट्रियता)लाई प्रशासनिक र राजनीतिकरुपमा आवद्ध वा एकीकृत गर्ने प्रक्रियासँग सहमति जनाउन सकिन्छ । यसमा निश्चित भूगोलभित्र सबै जनताको समान सहभागितामा तिनको भावनाको सम्मान गर्ने कुरालाई महत्व दिइन्छ र यसमा कानुनीरुपमा राज्यले अर्थात प्रशासनिक एकाईले आवश्यक बन्दोवस्त मिलाउने अपेक्षा गरिन्छ ।

यसको सोझो अर्थ के बुझिनुपर्छ भने देशका रुपमा विकसित र स्वीकार गरिएको भूखण्डमा एकभन्दा अधिक राष्ट्रियता हुन सक्छन । अर्थात विविध इतिहास, संस्कृति, मूल्य, मान्यता, विश्वास, आदर्श हुन सक्छन् । राष्ट्रनिर्माणमा यी सबैको समाहितीकरण आवश्यक हुन्छ जसले समग्र राष्ट्रियताको निर्माण र प्रवद्र्धन गर्ने विश्वास गरिन्छ । यसो हुन सके देशप्रति सबैको अपनत्वभावमा अभिवृद्धि हुन्छ र देशले सिंगो स्वरुप ग्रहण गर्न सम्भव हुन्छ । संक्षेपमा यही प्रक्रिया राष्ट्रनिर्माण हो जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ । राज्यले यही भूमिका निर्वाह गर्न नसक्दा समग्र राष्ट्रियताको अवमूल्यन हुँदै देश विखण्डनसम्मको खतरा निम्तिन सक्छ । विश्वका विभिन्न देशहरुको इतिहास अध्ययन गर्ने हो भने यही कुरा प्रमाणित हुन्छ ।

राष्ट्रनिर्माणका सन्दर्भमा थुप्रै अवयवहरुले जोडने र तोडने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यीमध्ये कतिपय सुशुप्त हुन्छन् भने कतिपय जाग्रत । यीमध्ये कतिपय तत्वले कुनै सन्दर्भमा जोडने र कुनै सन्दर्भमा तोडने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेका हुन्छनु् । भाषा, प्रतीक, चिन्ह, झण्डा, सिद्धान्त, आदर्श, विचार, संरचना आदी यस्तै तत्व वा माध्यम हुन् । कतिपय अवस्थामा यो बोधगम्य हुन्छ भने कतिपय अवस्थामा वोधगम्य हुँदैन । यस्तै एक सशक्त माध्यम हो, खेलकुद । राष्ट्रनिर्माणका सन्दर्भमा खेलकुदले कहिले जोडने त कहिले तोडने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेको हुन्छ । नेपालका सन्दर्भमा पछिल्लो दिनमा क्रिकेटले जोडने भूमिका निर्वाह गरिरहेको छ भन्दा अतिशयोक्ति ठहरिँदैन । वास्तवमा, माथि जसरी चर्चा गरियो, नेपाल अहिले राष्ट्र बन्ने क्रममा छ । यस सन्दर्भमा यहाँ हामीले थुप्रै तत्वलाई राष्ट्र जोडने तत्वका रुपमा विकसित गर्न सक्नु पर्छ । राज्यको भूमिका यहाँनिर महत्वपूर्ण हुन्छ ।

तपार्इको प्रतिक्रिया