अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

नयाँ पाइला
३ महिना पहिले
अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौँ, ४ माघ। अनलाइनमार्फत बसको टिकट काट्नेको सङ्ख्या बढ्दो रहेको छ। अनलाइनमार्फत टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको हो ।

अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन्। बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, पछिल्लो समयमा अनलाइनबाट टिकट काट्ने यात्रुको सङ्ख्या बढिरहेको छ।

सुरुसुरुमा यातायात व्यवसायीले अनलाइनमार्फत टिकट बिक्री गर्ने कुरामा चासो नदेखाए पनि पछिल्लो समय यातायात व्यवसायीसमेत यसमा आकर्षित भएका छन् ।

अहिले धेरै क्षेत्रमा अनलाइन भुक्तानी तथा कारोवार शुरू भए पनि सार्वजनिक यातायातका साधनमा प्रविधिको प्रयोग हुन नसकिरहेका बेला बस सेवाले यातायात व्यवसायीलाई आवश्यकपर्ने ‘बि–सफ्ट’ नामक सफ्टवेयर निर्माण गरी अनलाइनबाटै टिकट काट्न सकिने सेवा ल्याएको हो । नेपालका अधिकांश रूटमा अनलाइन टिकट काट्न सकिन्छ ।

यात्रुले आफ्नो मोबाइल, इन्टरनेटमार्फत घरैबाट अथवा नजिकको साइबर कम्युनिकेशनबाट टिकट काट्न सक्छन्। यसको प्रयोग गर्दा दशैँ तिहार तथा अन्य समयमा धेरै यात्रु ओहोरदोहोर गर्ने समयमा पनि टिकट दोहोरिने तथा टिकटमा कालोबजारी गर्न नसक्ने हुँदा यातायात व्यवसायीलाई पनि सेवा प्रदान गर्न सहज हुने उनको भनाइ छ ।

बस सेवा डटकम, बस सेवा मोबाइल एप्सलगायतका माध्यमबाट टिकट काटी ई–सेवा, आइएमई पे, इप्रभुलगायतका भुक्तानी सेवा प्रदायक तथा इन्टरनेट बैंकिङ र मोबाइल बैकिङमार्फत टिकट काट्न सकिन्छ ।

तपार्इको प्रतिक्रिया