भारतसँग नयाँ हवाई रुटको विषयमा दुईपक्षीय छलफल हुने

नयाँ पाइला
२ महिना पहिले
भारतसँग नयाँ हवाई रुटको विषयमा दुईपक्षीय छलफल हुने

काठमाडाैँ, २ माघ ।  नयाँ हवाई रुटको विषयमा भारतीय उड्डयन मन्त्री सुरेश प्रभाकर प्रभुसँग आज दुईपक्षीय छलफल हुने भएको छ । ‘ग्लोबल एभिएसन समिट २०१९’ भाग लिन भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय उड्डयनमन्त्री  प्रभुबीच साइडलाइन वार्ता हुन लागेको हो ।

गत असोजमा भारतपक्षले प्राविधिक स्तरको वार्तामा अहिले रुट दिन नसक्ने जनाउ दिँदै नेपाल पक्षलाई फिर्ता गरेको थियो । वार्ता असफल भएको चार महिनापछि पुनः हवाई रुट खोल्ने विषयमा परराष्ट्र, तालुक मन्त्रालय र प्रधानमन्त्रीस्तरबाट छलफल सुरु भएको थियो ।

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै पाँच वर्ष भइसकेको छ ।  दुई वर्ष अगाडी नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमति समेत भएको थियो । तर हालसम्म पनि कार्यन्वयनमा भने आउन सकेको छैन । कार्यन्वयन गर्ने अन्तिम प्राविधिक वार्ता भाँडिएपछि नयाँ रुट खुल्ने विषय पुनः टर्दै आएको छ ।

तपार्इको प्रतिक्रिया