नेपाली बोल्ने विद्यार्थीलाई ‘पनिसमेन्ट’

३ महिना पहिले
नेपाली बोल्ने विद्यार्थीलाई ‘पनिसमेन्ट’

सूचना प्रविधिले आजको हरेक मानिसलाई ‘ग्लोबल सिटिजन’को रुपमा विकास गरिरहेको छ । ग्लोबल सिटिजनको साझा भाषाको रुपमा अङ्ग्रेजीलाई ‘अन्तर्राष्ट्रिय भाषा’को संज्ञा दिइएको छ । आजको विश्वमा सञ्चार प्रविधिको प्रयोगले संसारको एक कुनाबाट अर्को कुनामा रहेको व्यक्तिबीच तत्काल सूचना आदानप्रदान गर्न सम्भव बनाएको छ । र, त्यस्तो सञ्चार कार्यमा अङ्ग्रेजी भाषाको प्रयोग आवश्यक छ ।

नेपालको संविधानले नेपालमा प्रचलित भाषाहरुलाई राष्ट्र भाषाको मान्यता दिएको छ भने सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था गरेको छ । यसरी नेपालभित्र औपचारिक कामकाजको लागि नेपाली र अन्तर्राष्ट्रिय भाषाको रुपमा अङ्ग्रेजी भाषाको प्रयोग गरिन्छ । जुनसुकै भाषा, धर्म र संस्कृति अपनाए पनि भाषिक र साँस्कृतिक विषयमा शुद्धता हुनुपर्छ भन्ने यो पंक्तिकारको मत हो ।

हिजोआज नेपाली समाजको प्रत्येक सदस्य, हरेक व्यक्ति तथा परिवार अङ्ग्रेजी भाषाको ज्ञान र महत्वप्रति सचेत छ । तर, यही पृष्ठभूमिमा अङ्ग्रेजी भाषामा दख्खल बनाउने नाममा अनेक बेथिति र विरोधाभासहरु देखिन थालेका छन् । यो आलेख स्कुल तहमा अङ्ग्रेजी भाषाको जबरजस्त प्रयोग र त्यसले पार्ने प्रभावमा केन्द्रित छ ।

अङ्ग्रेजीको अचाक्ली !

प्राथमिक तहको यौटा विद्यार्थीलाई शिक्षकले ‘माइ हेड’को अर्थ ‘मेरो टाउको’ हो भन्ने पढाएछन् । त्यो विद्यार्थीले घरमा पुगेपछि आफुले माइ हेडको शब्दार्थ र स्पेलिङ जानेको बताउँदै भन्छ, माइ हेडको अर्थ ‘सरको टाउको ।’ छोराको सिकाइ देखेर रिसले मुर्मुरिँदै बाबुचाहिँले हप्काउँछ – माइ हेड भनेको मेरो टाउको हो गधा ।

विद्यार्थी झन् अल्मलिन्छ । उसले घटनाक्रम र सिकाइको संश्लेषण गर्दै निष्कर्ष निकाल्छ – माइ हेडको अर्थ घर र स्कुलमा फरक फरक हुने रहेछ । माइ हेडको मतलब, घरमा बाबुको टाउको र स्कुलमा सरको ।

अचेल प्रायजसो स्कुलमा विद्यार्थीको सिकाइको स्तर छिमेकमा घटेको यो घटनासँग मिल्दोजुल्दो छ । उनीहरुले कुनैपनि विषयमा आधारभुत ज्ञान पाउनुको सट्टा घोकाइको आधारमा ज्ञान बटुलिरहेका छन् ।

केही समयअघि यौटा चर्चित विद्यालयको वार्षिकोत्सवमा सहभागी हुने मौका मिल्यो । दुईचारवटा भाषण सुनिसकेपछि कार्यक्रम सञ्चालकले साँस्कृतिक कार्यक्रम सुरु भएको उद्‍घोष गरे । उनले सुरुमा विद्यार्थीहरुको सामुहिक प्रस्तुति रहने बताएसँगै मञ्चमा किशोरवयका विद्यार्थीको यौटा टोली देखियो ।

मञ्चमा अनेक गन्यमान्यहरु विराजमान थिए । ग्राउन्डभरि विद्यार्थी, अभिभावक र अन्य सहभागीहरु । यत्तिकैमा आफ्नो प्रस्तुतिको लागि विद्यार्थीहरु मञ्चमा उक्लिए । टोली नेताले सम्बोधन गर्‍यो, “गुड मर्निङ एभ्रिबडी ।” उसले सम्बोधन गर्दा करिब दुई बजेको थियो । त्यसअघि एक डेढघण्टाको समय ‘चिफ गेस्ट’को प्रतीक्षामा खेर गएको थियो ।

नेपालमा हुने कार्यक्रम एकदुई घण्टा ढिलो सुरु हुनु सामान्य भइसकेको छ । अवस्था यस्तो छ कि यो ढिलासुस्तीलाई सजिलै ‘करेक्सन’ गर्न नसकिने ठाउँमा हाम्रो समाज पुगेको छ । स्वयं प्रधानमन्त्रीलाई कुर्दा समय खेर गएको भनेर पार्टीभित्र पटक पटक आलोचना भएको छ । बैठक बहिष्कारसम्मको स्थिति आइलागेको छ । फेरिपनि समयको मामलामा हामी सुध्रिन सकेका छैनौं ।

सायद त्यही प्रतीक्षाले विद्यार्थीहरुको ‘मर्निङ टाइम’मै हुने प्रस्तुति ‘आफ्टरनुन’मा धकेलिएको थियो । ‘चिफ गेस्ट’को प्रतीक्षामा र केही व्यवस्थापकीय कारणले कार्यक्रम समयमा ढिला सुरु हुनु नौलो कुरा भएन । तर, कार्यक्रमलाई अङ्ग्रेजीमा सम्बोधन गरेर प्रस्तुति सुरु गर्ने विद्यार्थीले ‘मर्निङ र आफ्टरनुन’को भेद बुझ्न नसक्नुचाहिँ सामान्य विषय होइन । त्यो पनि कुनै दुरदराजको स्कुलमा नभएर ‘क्वालिटी एजुकेसन’को डंका पिटिने राजधानीका विद्यालयमा भएको कार्यक्रममा ।

व्यक्तिको व्यावहारिक जीवनमा अङ्ग्रेजी भाषाको प्रयोग र उपयोगिता कति छ ? भन्ने सवाल एकातिर छ । यसमा अनेक बहस र तर्क गर्न सकिन्छ । तर, केवल अङ्ग्रेजीको ज्ञानमात्रै भएर अन्टसन्ट प्रयोग गर्दैमा कोही अब्बल ठहरिन्न । सत्य यही हो ।

हामीकहाँ भने अङ्ग्रेजी जान्ने मान्छेलाई ‘सुपेरियर’ सोचिन्छ । अवस्था यस्तोसम्म छ, यहाँ कालो चिया अर्डर गर्नेलाई हेयको दृष्टिले हेरिन्छ । र, त्यही भाँडोमा पकाएको ‘ब्ल्याक टी’ अर्डर गर्ने मान्छे स्मार्टमा गनिन्छ ।

हाम्रो परिवेशमा अङ्ग्रेजीको अन्टसन्ट प्रयोग गरेरै पनि समाजमा बडप्पन देखाउनेहरुको जमात बढ्दैछ । दैनिक व्यवहारको सिलसिलामा ढुक्कैसँग ‘मलाई नेपाली आउँदैन’ भन्नेहरुको संख्या प्रतिदिन बढ्दो छ । समाजमा शुद्ध अङ्ग्रेजी होइन, केवल अङ्ग्रेजीमात्रै जान्नेहरुको बोलवाला छ । अनि हाम्रा विद्यालय र कलेजहरु अङ्ग्रेजी माध्यमको पढाइकै विज्ञापन गरेर अन्धाधुन्ध व्यापार गरिरहेका छन् ।

राजधानीका केही स्कुलहरुले अभिभावकको अन्तर्वार्ता र अङ्ग्रेजीमा दख्खल कति छ ? भनेर टेस्ट लिने चलनसमेत चलाएका छन् । हरेकजसो नीजि स्कुलको गेटभित्र छिर्नासाथ ‘इङलिस स्पिकिङ जोन’ देखिन्छ । त्यो ‘जोन’भित्र नेपाली पढाउने शिक्षकसँग बाहेक अङ्ग्रेजी बोल्न प्रतिबन्ध छ । हरेक विद्यार्थीले सकि नसकी, जानी नजानी अङ्ग्रेजी भाषाको प्रयोग गर्नुपर्छ । बिस्तारै उनीहरु त्यही अङ्ग्रेजीमा आत्मविश्वासी बन्दै जान्छन् । जुन ज्ञानले न अङ्ग्रेजीको मर्यादा राख्न सक्छ न नेपालीको ।

केही समयअघि एकजना मित्रले सञ्चालन गरेको स्कुलमा पुग्ने मौका मिल्यो । पुग्नासाथ ती मित्रले स्वागत गर्दै प्रिन्सिपलको कोठातिर लगे । प्रिन्सिपलको कोठाको प्रवेशद्धारसँगै यौटा कुर्सीमा खुत्रुकेजस्तो भाँडो देखियो । ‘पब्लिक स्पेस’मा खुत्रुके ? मैले जिज्ञासा राखेँ । ती मित्रको जवाफ थियो – ‘पनिसमेन्ट’ कलेक्सन बक्स हो । त्यससँगै विद्यालय सञ्चालक मित्रले स्पष्टीकरण पेश गरे, बच्चाहरुको इङलिस राम्रो बनाउन यसो गरिएको हो । त्यतिमात्र होइन, उनले प्राय: स्कुलको अभ्यास यस्तै हुनेसमेत बताए । विद्यार्थीलाई यो स्तरको बाध्यता सिर्जना गर्नुपर्ने किन ? नेपाली विद्यार्थीले आफ्नो स्कुलभित्र झुक्किएर पनि नेपाली बोल्न नपाउने ? “यस्तै छ सर । कम्पिटिसन छ । आफु टिक्न पनि यसो नगरी सुख छैन ।”, मित्रले लाचार लवजमा जवाफ दिए ।

जबरजस्त सिकाईको प्रभाव

भाषाविद्‍हरु भन्छन्, संसारमा हरेक हप्ताजसो यौटा भाषाको मृत्यु हुन्छ । भाषाको व्यावहारिक प्रयोगसँग भाषिक ज्ञान र दक्षताको प्रत्यक्ष सम्बन्ध हुन्छ । विज्ञहरुका अनुसार भाषाको अस्तिस्वसमेत त्यसको प्रयोगमा आधारित हुन्छ ।

हामीकहाँका कैयन् ज्ञानीगुनी डिग्रीवालाहरुको तुलनामा राजधानीको ठमेल र अन्यत्रका पर्यटकीय क्षेत्रमा भेटिने सवारीचालक, भरियाहरुको अङ्ग्रेजी भाषाको दख्खल बढ्ता देखिन्छ । यसले पनि पुष्टि गर्छ कि भाषाको सिकाइ त्यसको आवश्यकता र व्यावहारिक प्रयोगसँग हुन्छ । अत: असल र ज्ञानी मानिस बनाउने धुनमा जबरजस्ती अङ्ग्रेजी र अन्य भाषा थोपरिदिनु विद्यार्थीमा बोझ बढाउने काम मात्रै हो । त्यसमाथि स्कुल हाताभित्र झुक्किएर पनि नेपाली प्रयोग गर्न नपाउने नियम विद्यार्थी, अभिभावक र समाजमाथिको निर्मम प्रहसन हो ।

अङ्ग्रेजी भाषाको ज्ञान राम्रो बनाउन त्यसको असल तवरले सिकाई, अभ्यास र व्यावहारिक प्रयोग आवश्यक छ नकि ‘पनिसमेन्ट’ र जबरजस्ती । समकालीन नेपाली समाजमा यो विषयमा सघन बहसको आवश्यकता छ ।

तपार्इको प्रतिक्रिया