तपोवनको ‘तरङ्ग’

टीएन रेग्मी
४ महिना पहिले
तपोवनको ‘तरङ्ग’

बालाजुबाट ६ किलोमिटर दुरीमा ओशो तपोवन नामक ध्यान केन्द्र छ । त्यसको बारेमा अधिकांश नेपालीले कुनै न कुनै रुपमा सुनेकै छन् । हिजोआज तपोवनमा ध्यान गर्नेबाहेक बिदाको दिन घुमफिरका लागि जानेहरुको संख्यासमेत प्रतिदिन बढिरहेको छ । पछिल्लो केही महिनादेखि तपोवनका संस्थापक स्वामी आनन्द अरुण र ओशो तपोवनबारेका विभिन्न टीका टिप्पणी सञ्चार माध्यममा आइरहेका छन् ।

यो आलेख ओशो दर्शन, ध्यान, योग, धर्म, अध्यात्म आदि विषयमा नभएर तपोवनको सन्दर्भमा अहिले देखिएको विवादको प्राविधिक पक्षमा केन्द्रित छ ।

ओशो तपोवनका सन्दर्भमा सतहमा आएको बहसमा यौटामात्रै मुद्दा छैन । आधा दर्जनजति विषय आपसमा जेलिएका छन् । त्यसमा केही विषय व्यावहारिक र केही नितान्त प्राविधिक छन् । विवाद लम्बिँदै जाँदा साइबर क्राइमको मुद्दासम्म पुगेको छ भने निकुञ्जमा कार्यरत एक कर्मचारीको सरुवा भएको खबरसमेत सार्वजनिक भइसकेको छ ।

बाटो, पुल, जमिन र तटबन्ध

बाटो र पुलको निर्माण यो विवादको मुल विषय हो । तपोवनको दक्षिणपूर्वी भागबाट मोटरबाटो निर्माण गरिएको छ । मोटरबाटो अघि बढ्दै जाँदा पारिपट्टिको भवनसम्म जानका लागि मोटरेबल पुल निर्माण भएको देखिन्छ । मोटरबाटोको बीचमा खोला-खोल्सा परेपछि पार गर्न पुल निर्माण हुनु कुनै आश्चर्यको कुरा  होइन । बाटो र पुल नितान्त प्राविधिक विषय हो । सरकारी खर्चमा गरिएको पुल र बाटोको निर्माण अन्धाधुन्ध भयो भन्ने तर्क सही होइन । बाटोमै पर्नेगरी जस्ताको तस्तै राखिएका केही रुखहरुले निर्माण कार्यसँगै पर्यावरणको बारेमा समेत थोरबहुत सोचिएको बुझ्न गाह्रो पर्दैन ।

तपोवनको क्षेत्रभित्र पर्ने जग्गा निकुञ्जको नभएर बरु सार्वजनिक वनको केही भाग मिचिएको हुनसक्ने जानकारहरु बताउँछन् । जग्गा धनी पूर्जामा उल्लेखित क्षेत्रफल र साँध सिमाना हेरेर यो विषयको निरुपण गर्न सकिन्छ ।

सार्वजनिक जग्गा कुनै व्यक्ति वा संस्थाले अतिक्रमण गर्नुहुँदैन । अतिक्रमण भएको खण्डमा सम्बन्धित निकायले त्यसउपर कानुन बमोजिम कारबाही गर्दछ । तर, त्यही विषयसँग जोडेर अमुक व्यक्ति वा संस्थाको स्वार्थपूर्तिको माध्यम बन्ने कि नबन्ने ? सचेत नागरिकले ध्यान पुर्‍याउनुपर्ने यहीँनेर हो ।

जहाँसम्म तटबन्धको विषय छ, त्यो आवश्यकताको आधारमा हुनुपर्छ र स्वाभाविक हुनुपर्छ भन्नेमा दुईमत छैन । यी सबै विषयमा योजना निर्माण, बजेट तर्जुमा हुँदै निर्माण कार्यसम्म पुग्दा भएका त्रुटि तथा पहुँच, प्रभावको दुरुपयोगबारे सत्य तथ्य खोज्नु र कारबाही गर्नु सम्बन्धित निकायको काम हो । तर, बजारिया हल्लासँगै मुद्दालाई अतिरञ्जित गरिनु हुँदैन ।

आधिकारिकताको प्रश्न

ओशोको मृत्यबारेको रहस्य अद्यापि उद्‍घाटित भइसकेको छैन । ओशोका अनुयायीहरु संसारभर फैलिएका छन् । जानकारहरुका अनुसार पछिल्लो विवादको जड भारतको पुनास्थित ओशो फाउन्डेसन र नेपालको तपोवनबीचको हो । नेपालभित्र र विदेशमा समेत स्थापित सयौं कम्युनहरु नेपालको तपोवनसँग आबद्ध छन् । ओशोसँग सम्बन्धित दर्शनका सन्दर्भ सामग्री र स्रोतहरुको आधिकारिता कोसँग रहने र विश्वमा ओशोका अनुयायीहरुको आधिकारिक नेतृत्व कसले दिने भन्ने विषयसँग अरु स-साना विषय घोलिएर विवादको रुप लिएको तपोवनबारे जानकारहरुको भनाई छ ।

यसरी हेर्दा यो विवाद भारतको पुनास्थित ओशो फाउन्डेसन र नेपालको तपोवनबीचको आपसी टकराव हो भन्ने बुझ्न कठिन छैन । यो संघर्षमा नेपालका सञ्चार माध्यमहरुले कुनै एक धारलाई समर्थन गर्ने वा तटस्थ रहने भन्ने मूल प्रश्न हो । कसैको व्यक्तिगत र संस्थागत स्वार्थसँग जोडिएर सञ्चार माध्यमहरु तरङ्गित हुनु उदेकलाग्दो कुरा हो ।

सञ्चार माध्यमको कन्टेन्ट र नियत

संसारको जुनसुकै कुनामा घट्ने घटनासँग सम्बन्धित रहेर सार्वजनिक सरोकारको विषयमा बहस गर्नु सञ्चार माध्यमको व्यावसायिक धर्म हो ।

यी पंक्तिहरु लेखिरहँदा अमेरिकी टेलिभिजन च्यानल सीएनएनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । सीएनएनकी सम्वाददाता जिम एकोस्टालाई ह्वाइटहाउसमा दुर्व्यवहार गरिएको र उनको प्रेस पास रद्द गरिएको विषय अदालतसम्म पुगेको हो ।

विश्वभर सञ्चार माध्यमको उपस्थिति अनि चासोलाई नियन्त्रण र प्रयोग गर्ने/गराउने परिपाटी कुनै न कुनै रुपमा देखिन्छ, चाहे त्यो नेपाल होस् वा अमेरिका । नेपालमा पनि तपोवनलगायत अनेक विषयमा मिडियाको भूमिकाबारे बहस, छलफल भइरहेको छ । सञ्चार माध्यमहरु विवादित बनेका र प्रयोग भएका अनेक अनुभुति पनि हामीकहाँ छन् ।

अमुक व्यक्ति वा संस्थाविशेषको स्वार्थको पछाडि सञ्चार माध्यमहरु बहकिनु हुँदैन भन्ने पंक्तिकारको मत हो । चाहे जुनसुकै मुद्दामा किन नहोस् ।

नेपाली सञ्चार माध्यमहरुले कतिपय व्यक्तिगत मामिलामा समेत अनावश्यक चासो देखाउने गर्दछन् । सकारात्मक भन्दा नकारात्मक कुरामा बढ्ता चासो राख्नु, अरुलाई कमजोर देखाएर आफु बलियो देखिन रुचाउनु समग्र नेपाली समाजको मनोविज्ञान हो । यही कमजोर मनोविज्ञानलाई उपयोग गरेर कुनै व्यक्ति वा संस्थालाई कमजोर पार्ने, सबल देखाउनेजस्ता अनेक खेल हुने गर्दछन् । यस्ता कैयन् उदाहरण नेपाली र सञ्चार माध्यमसँग जोडिएका छन् ।

तपोवनकी एकजना साधक (जो पेशाले नर्ससमेत हुन्) र स्वामी अरुणको विषयसमेत यही सोचसँग जोडिएको छ । त्यो घटनाको विषयमा भएको दुष्प्रचारको कारण दुईजना व्यक्ति साईबर क्राइमको मुद्दामा जेल जानुपरेको छ । सम्बन्धित मान्छेले कुनै गुनासो वा आपत्ति प्रकट नगरेको अवस्थामा तेस्रो पक्षले अनावश्यक चासो राखेर बद्‍नियतपूर्वक तथ्यलाई तोडमोड गरेका कारण उनीहरु जेल जानुपरेको हो । अन्यथा त्यो जेल जानुपर्ने अवस्था निम्तिने घटना नै होइन । दुई व्यक्तिबीचको सम्बन्ध र व्यवहारलाई नियतवश सार्वजनिक रुपमा फैलाउनु सर्वथा गलत हो । यसलाई अन्य विषयसँग जोडेर हेर्नु जरुरी छैन ।

कुनै घटनासँग असम्बन्धित पक्षको अनावश्यक चासोले जेलसम्म पुगिने रहेछ भन्ने पाठ नेपालका अनलाइनहरुले पनि सिक्नु जरुरी छ । यस्ता घटनाका सन्दर्भमा प्रेस स्वतन्त्रता र कन्टेन्टको विषय सेकेन्डरी हो ।

अन्त्यमा,

ओशो तपोवनले आध्यात्मिक चिन्तनको विकासका अलावा राजधानी, राजधानी बाहिरका जिल्ला र विदेशसम्म पनि एक व्यवस्थित ध्यान केन्द्रको पहिचान बनाएको छ । यसको आर्थिक सामाजिक प्रभावका विषयमा बेग्लै अध्ययन आवश्यक भए तापनि कुनै न कुनै रुपमा त्यसको सामाजिक र आर्थिक महत्व छ भन्ने निष्कर्षमा पुग्न गाह्रो छैन । पंक्तिकारको बुझाइमा तपोवन कुनै यौटा धर्मको बिस्तारमा केन्द्रित संस्था होइन । नत निजी वा व्यावसायिक संस्था नै हो ।

सार्वजनिक सम्पत्तिको दुरुपयोग हुने, कुनै अमुक संस्थाले गर्ने निर्माणकार्यले प्रतिकुल वातावरणीय प्रभाव पार्नेजस्ता विषयमा निगरानी गर्नु र सचेत गराउनु सञ्चार माध्यमको धर्म हो । तर, यही व्यावसायिक धर्मको आवरणमा अनावश्यक विवाद निम्त्याउने र व्यक्ति तथा संस्थाको बद्‍नियतपूर्वक दुष्प्रचार गर्नुलाई किमार्थ सही मान्न सकिन्न ।

ओशो तपोवनका सन्दर्भमा केही सञ्चार माध्यमले व्यक्तिविशेषलाई ‘एक्स्पोज’ गर्ने हदसम्मका सामग्री प्रकाशन गरेको पाइन्छ । अन्ततः त्यसले आफ्नै विश्वसनीयतामा प्रश्न उठ्नेभन्दा बढी केही उपलब्धि हासिल हुँदैन । जहाँसम्म अमुक व्यक्ति हिरो हुने विषय छ, त्यो कम्तीमा नेपाली समाजका लागि नौलो होइन । यस्ता हिरोहरु मौसम मौसममा देखा परिरहन्छन् ।

तपोवनको तरङ्ग आउनुको पृष्ठभूमि के थियो भन्ने समयक्रममा खुल्ने नै छ । तर, जुन ढंगले यो विषयमा विवाद र बहस भयो त्यो बेठीक र संकुचित छ भन्ने बुझ्न संस्थासँगको निकटता, आबद्धता र समर्थक भइराख्नु पर्दैन ।

तपार्इको प्रतिक्रिया