पत्रकारितामा भ्रष्टाचारः साखमा गिरावट

धर्मेन्द्र झा
४ महिना पहिले
पत्रकारितामा भ्रष्टाचारः साखमा गिरावट

आजको विश्वमा आमव्यक्तिलाई सुसूचित गर्न र सुशासन स्थापनाका सन्दर्भमा पत्रकारिताको भूमिका महत्वपूर्ण छ । पारदर्शिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आजको सन्दर्भमा पत्रकारिता पारदर्शिता प्रवद्र्धनको एक महत्वपूर्ण औजार हो भन्ने कुरामा शंका छैन र सुशासनको स्थापना पारदर्शिताको अवस्थामा मात्र सम्भव हुन सक्छ भन्ने कुरामा पनि विवाद छैन । विविध प्रकरणहरुमा मिडियाले सञ्चालन गरेको अभियानबाट पनि यसको पुष्टि हुन्छ । वास्तवमा अहिले स्मरण गर्ने हो भने विगतमा भ्रष्टाचारका विभिन्न मुद्दा जनसमक्ष ल्याई सुशासन कायम गर्ने दिशामा मिडियाले निर्णायक भूमिका निर्वाह गरेको हो ।

भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय कारगर होलान, तर व्यवसायिक पत्रकारिता सबैभन्दा प्रभावकारी उपाय हुन सक्ने कुरामा विवाद हुन सक्दैन । विश्वका अन्य देशझै नेपालमा पनि पछिल्लो समयमा पत्रकारिता विस्तारै संस्थागत हुँदै गएको छ र दुखका साथ भन्नुपर्छ पत्रकारिताजन्य विकृति पनि विस्तारै वृद्धि हुँदैछ । यस्तै एक विकृति हो भ्रष्टाचार ।

भ्रष्टाचार र अनियमितता प्रायः अपारदर्शिताको अवस्थामा मौलाउँछ । जहाँ अँध्यारो अर्थात् सार्वजनिक निकायका गतिविधिहरु जनताबाट लुक्ने अवस्थाको सिर्जना हुन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँदछ । पत्रकारिताको महत्व यहाँनिर बढद्छ । पत्रकारिताले लुकेका कुरालाई बाहिर ल्याउने र अनियमितता सार्वजनिक गरेर खवरदारी गर्ने विश्वास गरिन्छ । पत्रकारिताले पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिनु अस्वाभाविक होइन । पत्रकारिताले अफ्नो यही दायित्व निर्वहनमार्फत् अनेकौं खुलासा गरेको हामै्र सन्दर्भ पनि साक्षी छ ।

पत्रकारिताले आमजनतालाई सुसूचित गरी चेतना जागृत गर्छ र सम्बन्धित पक्षबीच खवरदारी गर्ने कार्य गर्दछ । जनतालाई अनियमितताविरुद्ध आवाज बुलन्द गर्न अभिप्रेरित गर्छ भने दोषीलाई कठघरामा ल्याई कानूनी प्रक्रियाका लागि हौस्याउने गर्दछ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो । तर, भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय औजारका रुपमा स्थापित मिडिया जब आफै भ्रष्टाचारको मतियार बनेको आरोप लाग्दछ, समस्या त्यसबेला उत्पन्न हुन्छ । यस्तो अवस्थामा मिडियाले खवरदारी र पहरेदारी गर्ने क्षमता त गुमाउँछ नै समग्रमा जनताको विश्वास गुमाउने अवस्थाको पनि सिर्जना हुन्छ ।

यो अवस्था लोकतन्त्रका लागि त खतरनाक हो नै पारदर्शी शासन व्यवस्था र समाजको निर्माणका लागि पनि बाधक हो । यो अवस्था स्वयं पत्रकारिता समुदायका लागि घातक हो । यस्ता अनेकौ उदाहरण छन् जहाँ मिडिया स्वयं भ्रष्टाचारको मतियार बनी अनियमिततामा संलग्न रहेको आरोप लाग्ने गरेको छ । आरोपको यस्तो अवस्था एक सम्वद्ध पत्रकारका लागि त हानिकारक हो नै सम्वद्ध मिडियाका लागि अझ बढी दूर्भाग्यपूर्ण हो । यस्तो अवस्थाका कारण उत्पन्न परिस्थितिले सम्बद्ध मिडियाको विश्वसनियता र साख तल्लो स्तरसम्म गिर्न पुग्दछ । यसरी खस्केको साख कि त पुनः स्थापित गर्न नै सकिँदैन कि त पुरानै अवस्थामा पुर्याउन निकै कठीन हुन्छ ।

करिव पाँच वर्षअघि यस्तै अवस्थाको समना गर्नुपर्यो भारतयि ख्यातिप्राप्त टेलिभिजन च्यानल जी टिभिले । यसका दुईजना पत्रकारले कोइलाको खरीद विक्रीका सम्बन्धमा सम्प्रेषण गरेको समाचार आरोपित हुन पुग्यो । अनुसन्धान गर्दै जाँदा पछि त्यसमा पत्रकारले आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । यो घट्नापछि उक्त च्यानलको विश्वसनीयतामा निकै दिनसम्म समस्या अनुभव गरिएको थियो । यस्तै एक अन्य सन्दर्भमा अर्को चर्चित च्यानल आजतक पनि विवादमा मुछिएको थियो ।

यो विवादपछि त्यहाँ उपल्ला तहमा कार्यरत केही सञ्चारकर्मीले जिम्मेबारी त्याग गरेका थिए । भारतकै सन्दर्भमा हेर्ने हो भने त्यहाँ अहिले ‘पेड न्यूज’ को प्रवृत्ति हावी भएको अनुभव गरिएको छ । विश्लेषकहरुले यो प्रवृत्तिलाई व्यवशायिक पत्रकारिताको ‘भाइरस’ भनेर भयावह अवस्थातर्फ संकेत गर्ने गरेका छन् । यस प्रवृत्तिअन्तर्गत, विज्ञापनमा प्रकाशित वा प्रशारित हुनुपर्ने सामग्रीहरु रकम लेनदेनका आधारमा समाचारका रुपमा प्रकाशित गर्नु वा कुनै पनि समाचार प्रकाशित वा प्रशारित गर्न सम्बन्धित पक्षले आर्थिक मूल्य चुकाउनुपर्ने हुन्छ । यो प्रवृत्तिले पत्रकारिताको आत्मा नै मर्ने अवस्था सिर्जना हुन पुगेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनमा स्टिगं अपरेशनहरु मोलमोलाई र सौदावाजीका माध्यमका रुपमा प्रयोग हुन थालेको पाइएको छ ।

पत्रकारिताले आमजनतालाई सुसूचित गरी चेतना जागृत गर्छ र सम्बन्धित पक्षबीच खवरदारी गर्ने कार्य गर्दछ । जनतालाई अनियमितताविरुद्ध आवाज बुलन्द गर्न अभिप्रेरित गर्छ भने, दोषीलाई कठघरामा ल्याई कानूनी प्रक्रियाका लागि हौस्याउने गर्दछ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो ।

नेपालमा पनि समस्या छ
छिमेकी मुलुक भारतको पत्रकारितामा देखिएको भ्रष्टाचारको नकारात्मक प्रवृत्तिजस्तै अवस्था नेपालमा पनि अनुभव गरिन थालेको छ जो दुखद छ ।
केही समयअघिको कुरा हो, नापी कार्यालयका एकजना कर्मचारीले यस पंक्तिकारलाई एक अनलाइनको हवाला दिँदै आफ्नाविरुद्ध एक समाचार प्रकाशित गरी एक लाख रुपैयाँ माग गरेको र नदिए थप सामग्री प्रकाशित गर्ने धम्की दिइएको बताए । पंक्तिकारले निजलाई प्रेस काउन्सिलमा उजुरी गर्न सल्लाह दिएको सन्दर्भको उल्लेख गर्नु यहाँ जरुरी छ । यस्तै केही दिनअघि नापी कार्यालयकै सन्दर्भमा अर्को घटना स्मरणीय छ । त्यहाँका एकजना कर्मचारीको गुनासो थियो, एउटा अनलाइनले जसका विरुद्ध समाचार तयार पारेको हो त्यसलाई आफ्नो पक्ष राख्न नदिई चरित्रहत्यको प्रयास भयो । यस्तो आरोप अहिले नेपालका थुप्रै अनलाइनले वेहोरिरहेका छन् । परिणामतः अनलाइनहरु अहिले विश्वसनीयताको संकट झेलिरहेका छन् ।

२०५२-५३ तिरको कुरा हो, नेपाली पत्रकारिताको आकाशमा एकैपटक धेरै ‘ब्रोडसिट’ अखवारहरु अस्तित्वमा आए । तीमध्ये केही वन्द भइसकेका छन भने केही अहिले पनि प्रकाशित भइरहेका छन् । त्यसबेला अस्तित्वमा आएका अखवारहरु विविध आरोपबाट आरोपित भए । यस्ता आरोप मूलतः कालो धनलाई सेतो बनाउने प्रयासकेन्द्रित थियो भनेर आरोप लाग्ने गरेको छ । कुनैलाई एलसी घोटालाको परिणाम, कुनैलाई आपराधिक आम्दानीको उपज त कसैलाई व्यापार चोख्याउने दाऊका रुपमा हेरियो । यी आरोपहरुमा सत्यता कति छ त्यसको लेखाजोखा भविष्यले विस्तारै गर्दै जाला तर एक सत्य के हो भने यस्ता सञ्चारमाध्यम आरोपमुक्त हुन नसक्दा तिनले विश्वसनीयताको संकट भने वेहोर्नुपर्यो ।

भ्रष्टाचारको सन्दर्भ केलाउने हो भने निश्चय पनि यी आरोप महत्वपूर्ण छन् । यस्तै आफूलाई एकजना पत्रकार भनेर दावी गर्नेले हिडेन (लुकेको) क्यामेराको सहयोगमा स्टिगं अपरेशनका नाममा विभिन्न पेसाकर्मीसँग रकम असुलीको धन्दा चलाएको स्मरणीय छ । निज पत्रकार भन्नेको बदनियतको शिकार एक चिकित्सक बनेको सार्वजनिक भएको थियो । कथित पत्रकारले निज चिकित्सकसँग पनि रकमको माग गरेको खुलासा भएको थियो । यस्तै एक मासिक पत्रिकाले चार पाँच वर्षपहिले एक सुरक्षा निकायविरुद्ध लगातार समाचार सम्प्रेषण गरेको र पछि उक्त निकायले पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेको कुरा त्यसवेला निकै चर्चामा आएको थियो । पत्रिकालाई काउन्सिलले कार्यवाही गरेको थियो ।

यसैगरी, विगतमा नेपाल प्रहरी प्रत्यक्षतः जोडिएको सुडान घोटालाका सम्बन्धमा पनि मिडिया विवादमा आएको स्मरणीय छ । सुडान घोटालाका सम्बन्धमा केही सञ्चारमाध्यम घोटालाको खुलासाका दिशामा सक्रिय रहेको पाइयो भने केही सञ्चारमाध्यम सुडान मिशनमा भ्रष्टाचार नभएको प्रमाणित गर्न कस्सिए । यस्तै अवस्था सुडान घोटालाअघिको लाउडा र चेज एयर विवादका सम्बन्धमा पनि देखिएको थियो । कतिले यसको विरोध गरे भने कतिले यसको समर्थन गरेका थिए । दुवैथरि मत असन्तुलित थिए । यी प्रकरणमा सन्तुलित समाचार सामग्रीको नितान्त अनुभव गरिएको थियो । यसको पछाडी सम्बद्धहरुको भ्रष्ट आचरण जिम्मेबार थियो भनेर भनियो भने त्यो अस्वाभाविक हुने छैन । रकम लेनदेनको सन्दर्भ निकै चर्चामा आएको थियो ।

विगतको ०६२-०६३ को जनआन्दोलनको समयमा देशमा क्रियाशील तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले केही पत्रकारलाई नजराना वितरण गरेको समाचार जनआन्दोलनपछि सार्वजनिक भएको थियो । त्यसो त त्यसमा नाम मुछिएका धेरैजसोले विभिन्न निकायबाट सफाइ पाएका थिए तर यो घट्नापछि आमजनताले पत्रकारलाई हेर्ने दृष्टिकोणमा नकारात्मकरुपमा परिवर्तन आएको अनुभव गरिएको थियो । यस्तै विगतमा एक स्वास्थ्यमन्त्रीको सचिवालयबाट वितरण गरिएको र पत्रकारले स्वीकार गरेको ‘नगद उपहार’ को घट्ना निकै चर्चामा आएको थियो । यसरी वितरण गरिएको उपहार केही पत्रकारले स्वीकार गरे पनि एकजना पत्रकारले अस्वीकार गरेको समाचार सार्वजनिक भएपछि यो प्रकरणको खुलासा भएको थियो ।

यसैगरी नेपालका टेलिभिजन र रेडियो पनि अपवाद छैनन् । यी माध्यम र यसमा कार्यरत् सञ्चारकर्मीहरु पटकपटक विवादमा आइरहन्छन् । विगतमा मेडिकल कलेजहरु र तारे होटलको शेयरको सन्दर्भ नेपाली सञ्चारमाध्यममा बडो जोडतोडका साथ उठेको यहाँ उल्लेख्य छ । केही सञ्चारमाध्यम विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाबाट औपचारिक-अनौपचारिक सहयोग प्राप्त गरी अपारदर्शी ढंगबाट सञ्चालित रहेको आरोप लाग्ने गरेको छ । यस्ता मिडियाका कभरेजमा भ्रष्टाचार भएको थियो कि थिएन भन्न कठीन छ तर जनमानसमा एक किसिमको जिज्ञासा भने उत्पन्न भयो जसको सम्बोधन हुन सकेन, यो सत्य हो । प्रश्न उठ्छ, यस्ता कभरेज खोजी समाचारका प्रमाण हुन् ? मोलमोलाईका आधार हुन ? भ्रष्टाचारका नमुना हुन् ? वा मिडियाविरुद्धको सुनियोजित षडयन्त्र ? उत्तर कठीन छ ।

उपत्यका र उपत्यकाबाहिरबाट प्रकाशित हुने केही साप्ताहिक पत्रिकाहरु यदाकदा विवादमा तानिने गरेका छन् । यस्ता प्रकाशनहरु राजनीतिक गुट उपगुटबाट, व्यवशायिक घरानाबाट र कतिपय अवस्थामा आपराधिक छवी भएकाहरुबाट पनि सञ्चालन गर्ने गरिएको आरोप लाग्ने गरेको छ । यस्ता प्रकाशनको उद्देश्य नै वार्गेनिगं (मोलमोलाई) गर्ने, व्लयाकमेलिगं गर्ने, डराउने, धम्क्याउने र आर्थिक स्वार्थ पूरा गर्नु हो भनेर उपभोक्ताबीच चर्चा चल्नुलाई व्यवशायिक पत्रकारिताको प्रतिष्ठाका दृष्टिले सम्भवतः कसैले पनि उचित ठहर्याउन सक्दैन । यस्ता चर्चा जति उत्कर्षमा पुग्छन पत्रकारिताको साख त्यति नै स्खलित हुन्छ ।

अन्त्यमा माथि उल्लेख गरिएका सन्दर्भहरु अन्तिम होइनन् । यी केही उदाहरणमात्र हुन । यस्ता अनेकौ घटना छन्, सबैको चर्चा यहाँ सम्भव छैन र आवश्यक पनि छैन । । दुखको कुरा त के छ भने भ्रष्टाचारका घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यम मुछिने संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यो अवस्था निर्माणका लागि पत्रकार र पत्रकारिता संस्थामात्र जिम्मेबार छैनन् । कतिपय सन्दर्भमा कर्मचारीतन्त्र, राजनीतिक कार्यकर्ता, सुरक्षा संयन्त्रसँग सम्वद्ध निकाय पनि जिम्मेबार छैनन् । यी निकाय आफ्नो स्वार्थसिद्धीका लागि मिडियालाई प्रयोग गर्न पछि पर्दैनन् र मिडिया जानिँदो नजाँनिदो ढंगले भ्रष्टाचारमा मुछिन पुग्छ ।

यस्तै मुद्दा मामिलालाई प्रभावित गर्न पनि मिडियाको अवाञ्छित प्रयोग हुने गरेको आरोप लाग्ने गर्दछ । यो क्रम राजधानीमा मात्र सीमित छैन राजधानीबाहिर मोफसलमा पनि यस्ता अनेकौ घट्ना अस्तित्वमा छन् । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकारहरु स्वयं भ्रष्टाचारको आरोपको आवरणमा लपेटिनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु अशोभनीयमात्र होइन दुखद छ ।

तपार्इको प्रतिक्रिया