शासन प्रणालीमा सबैको समान पहुँच हुन जरुरी छ, नेपाल सबै नेपालीकाे साझा घर हाे- राजेन्द्र महताे

नयाँ पाइला
५ महिना पहिले
शासन प्रणालीमा सबैको समान पहुँच हुन जरुरी छ, नेपाल सबै नेपालीकाे साझा घर हाे- राजेन्द्र महताे

राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) अध्यक्ष मण्डलका एक सदस्य हुन्, राजेन्द्र महतो । नेपाली राजनीतिको यात्रा थाल्दा उनी नेपाल सद्भावना पार्टीमा थिए । त्याे बेला सामान्य जागीरे जीवन बिताउन चाहेका महतोको आजको दैनिकी राजनीतिमा व्यस्त छ । जे सोंच्यो त्यस्तो हुँदैन, त्यसैले होला उनको सपना र चाहना फरक धारमा हिँडेकाे, त्यो पनि पहिचानसहितको अधिकारका लागि । उनको राजनीतिक यात्राको ३ दशक अधिकारबिहिनहरुको अधिकार र पहिचान दिलाउन मै बित्यो, आज पनि यही अभियानमा उनी अनवरत लागेकाे बताउँछन् ।

सर्लाहीको हावापानीबाट आफ्नो जीवन प्रारम्भ गरेका महतोको बोली व्यवहार बाहिर हेर्दा जस्तो देखिन्छ, सुनिन्छ वास्तवमा अन्तरंगमा कस्तो छ ? उनका इच्छा, आकांक्षा र मनोभावना कस्ता छन् ? आम नागरिककाे अधिकार सम्पन्न जीवन चाहेका महतोले राजनीतिक जीवन यात्राको थालनी गर्नु पछाडिका कारणसहितको नालीबेली उजागर गर्न नयाँ पाइला डटकमले उनको संक्षिप्त जीवनी प्रस्तुत गरेको छ ।

राजेन्द्र महतोको बाल्यकाल र अध्ययन अनुभवः

सर्लाही जिल्लाको चन्द्रनगर गाउँको ‘नाह्रीताल’ (स्थानीय भाषामा नाह्रीमन) किनारमा ५०–६० वर्ष अघि एउटा बस्ती थियो । त्यही सानो बस्ती, नाह्रीटोलमा बुवा खोभारी महतो र आमा राजकुमारी देवीको कोखबाट २०१५ सालमा जन्मिएका हुन्, राजेन्द्र महतो ।

उनका बुवा किसान र व्यापारी थिए । सानो बस्ती भएकाले त्यहाँ डाका लाग्ने, चोरीका घटना धेरै हुन्थ्यो । त्यसैकारण त्यो बस्तीमा बसेकाहरु छेउछाउको गाउँमा बसाइ सरे, उनको परिवार पनि छेवैको बबरगञ्ज भन्ने ठाउँमा सर्यो ।

फुसले छाएको सानो टहराको घरमा जन्मिएर हुर्के बढेका महतोले प्रारम्भिक शिक्षा आफ्नै गाउँ बबरगञ्जबाट लिए । उनी जतिबेला स्कूल जाने भए, त्यही बेला २०२१ सालमा गाउँमा विद्यालय स्थापना भयो, विद्यालयको नाम थियो– दुर्गा जनता प्राथमिक विद्यालय ।

त्यही विद्यालयबाट अक्षरारम्भ गरेका महतोले ५ सम्म धुलाम्य भुइँमा बसेर पढे । उनी पढ्ने विद्यालय अहिलेको जस्तो पूर्वाधार सम्पन्न थिएन । उनी पढ्ने ठाउँमा ठूलो पिपलको रुख स्थानीयले पूजा गर्ने ब्रम्हस्थान थियो, त्यही रुखमुनि बसेर उनले पढेका हुन् । बोराको झोलामा सिलेट, खरी बोकेका उनले केही वर्षपछि पेनसिल समाउन पाएका थिए । विद्यालय जाँदा आफु बस्ने बोरा पनि साथमै लैजानु पर्थ्याे । विद्यालय पढ्दा पाएको दुखकष्ट सम्झेर उनले केही वर्ष अघि उक्त विद्यालयको पूर्वाधार विकासमा सघाए ।

‘नाह्रीताल’ अहिले पर्यटकीय स्थल भएको छ । त्यहाँ त्यति ठुलो अरु कुनै ताल नभएकाले पर्यटक घुम्न आउने वातावरण बनाएका छन् । उनले पढेको विद्यालय पनि त्यस क्षेत्रको नमूना विद्यालय बनेको छ । उनले विद्यालयको पूर्वाधार विकासका लागि धेरै पहल गरेर पक्की भवन बनाइदिएका हुन् । सन् २००४–०५ मा भारत सरकारको सहयोगमा उनले जिल्लाकै नमूना विद्यालय बनाउन योगदान दिए । उनले कखरा सिकेको उक्त विद्यालयको नाम अहिले श्री दुर्गा खोभारी उच्च मावि भएको छ ।

५ कक्षासम्मको पढाइ सकेपछि उनी कक्षा ६ देखि १० सम्मको अध्ययन गर्न सदरमुकाम मलङ्गवा गए । उनले त्यहाँ श्रीमती कृष्णादेवी हाइस्कुलमा पढेर एसएलसी पनि उत्तीर्ण गरे । सानैदेखि मितव्ययिता तथा अर्थ व्यवस्थापनलाई चुस्तदुरुस्त राख्ने उनको बानी थियो ।
२०२६ सालमा कक्षा ६ मा पढ्दै गर्दा माघ महिनामा नाम लेखाउँदा उनले २५ रुपैया ५८ पैसा खर्च गरेका थिए । त्यो वर्ष उनले २८७ रुपैयाँ ६८ पैसा पढाइमा खर्च गरेको टिपोट पुरानो पाना पल्टाउँदै देखाए ।

कक्षा ७ मा पढ्दा २७५ रुपैयाँ ६२ पैसा उनको पढाईमा खर्च भएको थियो । ८ कक्षामा ५४७ रुपैयाँ ३५ पैसा खर्च गरेका उनले कक्षा ९ मा ३५३ रुपैयाँ ४० पैसा खर्च भएको सबै टिपोट गरेका छन् । कक्षा १०मा अध्ययन गर्दा ४४६ रुपैयाँ पढाइमा खर्च गरेका उनले २०३१ सालमा जनकपुरमा एसएलसी परीक्षाको जाँच दिँदा ३०० रुपैयाँ खर्च गरेको अभिलेख राखेको छन् । यसरी ६ देखि १० कक्षा पढ्दासम्म उनको जम्मा २ हजार २१० रुपैयाँ ५ पैसा खर्च भएको थियो । उनले पहिलो पटक २०३० सालमा फोटो खिचाएका थिए, सर्लाहीको मलंगवामा रहेको आरके स्टूडियोमा । एसएलसी परीक्षा फर्म भर्न फोटो खिचाएको उनी बताउँछन् ।

उच्च शिक्षाका लागि काठमाडौंको यात्रा

२०३२ साउन २१ गते एसएलसीपछि उनी उच्च शिक्षा पढ्न काठमाडौं जाने निधो गरे । घर सल्लाहमा उनी ३ सय रुपैया बोकेर काठमाडौं हानिए । काठमाडौं पुग्न हेटौडाबाट भैंसे, पालुङ सीभञ्ज्याङ्ग हुँदै जानुुपथ्र्यो । पहिलो पटक काठमाडौं हिँडेका उनी चढेको ट्रक रात परेपछि सीभञ्ज्याङ्गमा रोकियो । अग्ला पहाड कहिले नदेखेका उनलाई डर लाग्नु स्वाभाविक थियो, त्यसमा प्रचण्ड गर्मी हुने ठाउँमा बसेका उनलाई पहाडको चिसो सिरेटोले पहिलो पटक स्पर्श गरेको थियो ।

हेटौडाबाट ट्रक चढेर काठमाडौं पुगेपछि उनलाई कहाँ जाने भन्ने टुंगो थिएन, त्यसैले रत्नपार्कमा दिनभर डुल्थे, नौलो ठाउँ काठमाडौंमा कोही नचिनेको, कहाँ जाने कसलाई भेट्ने थाहा थिएन । रत्नपार्कको छेवैमा रहेको भ्याली स्वीटमा गएर मिठाइ, समोसा खायोे, त्यो बेला भात खाने ठाउँ थाहा नपाएर पुलाउ खानु परेको उनलाई अझै याद आउँछ ।

रातको बसाइँ रञ्जना गल्लीमा रहेको एक होटेलमा थियो । माथिल्लो तलामा साधारण कोठा लिएर बास बसेका उनलाई पहिलो रातभर निद्राले छोएन । मनमा छटपटी छुट्यो, सबै कुरा नौलो थियो, मन पुरै आत्तिएको थियो, बन्द कोठामा उनले रुँदै पहिलो रात बिताएका थिए । सौभाग्य, भोलिपल्ट उनले एसएलसीसम्मसँगै पढेका साथी भेटाए । उनी पनि पढ्नका लागि काठमाडौं आएका रहेछन् । उनका आफन्त मन्त्रालयका कर्मचारी थिए । रत्नपार्कबाट उनलाई साथीले न्यूरोड गेट नजिकैको डेरामा लगे । पछि उनले चिकामुगल भन्ने स्थानमा डेरा लिए , त्यहाँ दिनहुँ जसो जात्रा निस्कन्थ्यो । त्यो जात्रा हेर्दा उनलाई अचम्म लाग्थ्यो, हरेक दिन फरक फरक जात्रा देख्दा उनलाई नेपालमा यस्तो विविधता रहेछ भन्ने लाग्यो । तर, केही दिनको डेरा बसाइपछि उनी ताहाचल केन्द्रीय छात्रावासमा सरे ।

उनी महेन्द्ररत्न क्याम्पसमा आइएडमा भर्ना हुन पुगे । पछि थाहा पाए एजुकेशन पढ्दा त शिक्षक बनिन्छ भनेर । उनलाई शिक्षक बन्नु थिएन, तत्काल उनले त्यो विषय परिवर्तन गरेर प्रशासनिक विषय अध्ययन गर्ने सोँच बनाए । खासमा उनलार्इ वकील बन्ने मन थियो । लगत्तै उनी नेपाल ल क्याम्पस पढ्न गए । त्यहाँबाट उनले २०३४ सालमा इन्टर पास गरे । पढ्दै जाँदा उनलाई लाग्यो, प्राइवेटबाट स्नातकमा ल (कानून) पढ्ने अनि जनप्रशासनमा पनि भर्ना हुने ।

जनप्रशासनको पढाइ डिल्ली बजारमा हुन्थ्यो, उनले त्यहीँ डिपिए ( डिप्लोमा इन पब्लिक एडमिनिष्ट्रेशन) पढे । त्यो बेलामा उनलाई प्रमुख जिल्ला अधिकारी (सिडीओे) ठुलो मान्छे हो जस्तो लाग्थ्यो । सिडीओ बन्नुपर्छ, प्रशासक बन्नुपर्छ र राम्रो जागीर खानुपर्छ भन्ने लागेरै प्रशासन पढेका थिए उनले ।

पढाईकै सिलसिलामा उनले २०३३ साल पौष १५ गतेबाट माघ १६ सम्म एक महिना १ दिन विशुद्ध शैक्षिक भ्रमणका लागि अल इन्डिया टूरमा गएको पुराना यादहरु सम्झन्छन् । ल क्याम्पसमा सँगै अध्ययन गर्ने २१ जना साथीहरुसँग उनी भ्रमणमा निस्किएका थिए । जाडो याम भएकाले टुँडिखेलमा हिउँ जमेको दिन थियो । प्रदर्शनी मार्गबाट थालनी भएको शैक्षिक भ्रमणको यात्रा विरगंज पुग्यो । त्यहाँबाट रक्सौल भएर ट्रेनको यात्रा भयो । ट्रेनको यात्रामा भारतीय दुतावासले ८० प्रतिशत छुट दिएको रहेछ । उनले त्यो १ महिना भ्रमण यात्रामा जम्मा ११ सय खर्च गरेको बताउँछन् । त्यो बेलाको शैक्षिक भ्रमण भारतका १३ प्रदेशमा भएको थियो । काठमाडौमा अध्ययनका क्रममा उनले दुइवटा लाइबे्ररीको सदस्यता लिएका थिए । १९७६ मा उनले लिएको भारतीय पुस्तकालयको सदस्यता कार्ड १२३८ र अमेरिकन लाइब्रेरीको सदस्यताकार्ड १५७७ हो ।

कानूनमा आइएल र स्नातकमा डिपिएसम्म अध्ययन गर्दा उनको काठमाडौको पढाइ खर्च १३ हजार ७०८ रुपैयाँ खर्च भएको थियो । बुवाले दिएको पढाई खर्चको हरेक रेकर्ड उनले कापीका पानामा सजाएर राखेका छन् ।

उनी अध्यात्ममा बढी लगाव राख्छन् । सानैदेखि आध्यात्मिक कुरामा बढी विश्वास राख्ने उनको बानी छ । विद्यार्थी छँदा २०३३ सालमा उनी भगवान श्री रजनीश आचार्यको शिष्य भएका थिए । उनलाई श्री रजनीशले २०३३ चैत २० गते माला धारण गराएका थिए । श्री रजनीशले माला लगाइ दिँदै उनको नाम स्वामी राजेन्द्र सत्यार्थी राखिदिएका थिए ।

उनले आइएल पास गरेपछि २०३५ चैत १६ गते सर्वोच्च अदालतबाट अधिवक्ताको ४२६ नम्बर लाइसेन्स लिए तर वकालतमा गएनन् । २०३६ सालमा उनले स्नातक सकाएपछि जागीर खाने सोँँच बनाए, त्यहीबेला देशमा राजनीतिक तरंग फैलिएको थियो । जनमत संग्रह हुँदै थियो, निर्दल कि बहुदल भनेर । त्यसपछि उनी जनमत संग्रहमा भाग लिन गाउँ गए, त्यो जनमत संग्रहमा बहुदलको पक्षमा सर्लाहीबाट धेरै मत आएको थियो । विद्यार्थी आन्दोलन उत्कर्षमा थियो । पाकिस्तानी राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिएको विरोधमा पाकिस्तानी दुतावास अगाडी भएको प्रदर्शनमा उनले चोट पनि खाए । त्यो आन्दोलन प्रजातन्त्रका लागि थियो ।

२०३७ साल असार १९ गतको घटना हो, उनी घर गएका थिए, उनले आफ्नो घरमा क्यासेट प्लेयरको लाइसेन्स देखे । सर्लाही विकास समितिबाट जारी भएको १२५० नम्बर लेखिएको लाइसेन्स थियो क्यासेट प्लेयरको । त्यो बेलामा पनि क्यासेट प्लेयर चलाएवापतको शुल्क तिर्नु पर्ने व्यवस्था रहेछ । पञ्चायतकालीन राज्यले जनताबाट कर उठाउन क्यासेट प्लेयरको दर्ता गरेको थियो । त्यहाँबाट उनले राज्यको सिस्टम के हो ? भन्ने कुरा थाहा पाएको बताउँछन् ।

कार्ल मार्क्सका पुस्तक पहिलो प्राथमिकतामा

बृहत ज्ञान आर्जनका लागि उनले पुस्तकालय भरपुर प्रयोग गर्ने गर्थे । पाठ्यसामग्री तथा अन्तराष्ट्रिय स्तरका किताव उनले बढी पढ्थे । इतिहास, जीवनी, भूगोल, समाचारका सन्दर्भ समेटिएका किताव उनका विशेष पठनीय सामग्री हुन्थे । विशेषतः कार्ल माक्र्सका किताव बढी चासो लिएर पढ्ने उनको बानी थियो । अमेरिकन लाइब्रेरी नयाँ सडकमा थियो भने भारतीय लाइब्रेरी हालको नेपाल एयरलाइन्स रहेको भवनमै थियो, छ ।
हालको निर्वाचन आयोगको अगाडी रहेको ब्रिटिस काउन्सिलको लाइब्रेरी थियो त्यहाँ पनि उनी अध्ययन गर्न जान्थे ।

कितावहरु पनि घरमै ल्याउने सुविधा थियो, त्यसकै उनले भरपूर फाइदा उठाउँथे । न्यूरोडमा कम्युनिजमको मात्रै किताव बिक्रि हुने पसल थियो, जागृति पुस्तक पसल । त्यहीँबाट ती किताव खरीद गरेर उनले पढ्थे । त्यो बेला चाइना टोटल रिभोलुसन आलेखबाट उनी निकै प्रभावित थिए । कार्ल मार्क्सद्वारा लिखित पुस्तकहरुको अध्ययन गर्ने बानी उनमा चढेको थियो तर उनी कम्युनिष्ट भने हुन सकेनन् । कारण थियो, आर्थिक विषय । उनी भन्छन्– ‘बोल्ने स्वतन्त्रता छैन, अभिव्यक्ति स्वतन्त्रता छैन, खाली पेट भरेर नहुने त्यसैले कम्युनिष्ट भएन ।’ गास, बास र कपास राज्यले दिने तर लोकतान्त्रिक स्वतन्त्रता नभएकाले उनी कम्युनिष्ट हुन नसकेको खुलाउँछन् । त्यति बेला बोल्ने स्वतन्त्रता नहुने, लोकतान्त्रिक स्वतन्त्रता नहुने, खाली बाँच्नका लागि मात्रै हुन्थ्यो, एकखालको त्रास हुन्थ्यो । त्यो बेला उनलाई कम्युनिष्टको अखिलको सदस्यता लिन आग्रह पनि भएको थियो तर, उनले इन्कार गरे ।

मधेशी भएका कारण जागीर नपाउँदाको पीडा

बीचको समय उनका लागि खाली थियो, काठमाडौंबाट जिल्ला जाने आउने भइ रहेको थियो, त्यसैले जागीर खान पाए हुन्थ्यो भन्दै उनी काठमाडौंमा निकै भौतारिए, धेरै ठाउँमा गए, तर कहिँ काम भएन । लिखितमा नाम निस्के पनि मौखिकमा फालिए । मधेशी मुलकै भएका कारण जागीर खानबाट आफू बञ्चित हुनु परेको उनमा पीडा थियो । मधेशबाट आएकालाई निकै विभेद, कसैले पैरवी नगरिदिने । न आगे नाथ न पिछे पगहा (असहाय) महसुस हुन्थ्यो, उनलाई ।

प्राय सरकारी सेवा वा अन्य ठाउँमा मधेशी कोही नदेखिने, आखिर किन ? उनलाई लाग्यो यो सबै मधेशी प्रतिको विभेदकै कारणले गर्दा नै हो ।
काठमाडौंमा बस्दा अध्ययनका क्रममा उनले धेरै दुःखका अनुभवमा संगाले । बाटोमा हिँड्दा घरमाथिबाट शरीरमा फोहर पानी फ्याकिदिने, मधेशी भनेर हेप्ने, मधेशबाट आफ्नै पहिरनमा आएका आफन्तको पछाडिबाट ढेकुवा तानि दिने, अनावश्यक शब्द बोलेर जिस्क्याउने गरेको मनमा सँधै बिझि रह्यो । तर, त्यो ताका काठमाडौंमा रहेका मधेशका मान्छे भेट्ने ठाउँ थियो, न्यूरोडको पीपलबोट । जमघटमा आउँदा ल्याएको साइकल वा अन्य बस्तु बिर्सेर गए भोलिपल्ट आउँदा पनि कसैले लैजान्थेन, सकुशल भेटिन्थ्यो । त्यस्तो अवस्था थियो त्यो बेलामा । अहिले परिस्थिति फेरिएको छ ।

विवाह र जागीरको संयोग

२०३७ साल असारको कुरा हो । जागीर खाने मेलोमेसो मिल्दै थियो, अचानक घरमा उनको विवाहको कुरा चल्यो । उनी दुलही हेर्न गएनन् । विवाहको पक्कापक्की भयो, विवाह मण्डपमा मात्रै उनले आफ्नी जीवनसंगिनीलाई देखेका हुन् । २०३७ असार १० गते उनले धुमधामका साथ विवाह गरे । खासमा उनको विवाह बुबाआमाले मागेरै गरिदिएका हुन्, भारतको बिहार सितामाडी जिल्ला मढीया गाउँबाट । पाल्की चढी जन्ती लिएर उनी गएका थिए ।

त्यसबेला उनकी जीवनसंगिनी शैलकुमारी देवी कक्षा १० मा पढ्थीन् । विवाहपछि पढाइ नरोकियोस भनेर उनले काठमाडौको कन्या हाइ स्कूलमा १० कक्षामा नाम लेखाए पनि पढ्दा भाषाको समस्या भएपछि एसएलसी दिन उनलाई उतै पठाए । एसएलसी इन्डीयाबाटै उनले पास गरिन् ।

विवाह भएको वर्षदिन पछि २०३८ सालमा पहिलो सन्तानका रुपमा महतो परिवारमा अन्जुको जन्म भयो । यस्तै, दोश्रो सन्तानको रुपमा पप्पुको २०४१ मा जन्म भएको थियो । उनी राँचीमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत हुँदा २०६२ सालमा दिल्लीको एम्स अस्पतालमा १ वर्षको उपचारपछि स्वर्गीय भए । उनको निधन ७ सेप्टेम्बर २००५ मा भयो । उनलाई मृगौलासम्बन्धि समस्या थियो, छोरालाई बचाउन उनकी आमाले किड्नी दान गरे पनि उनी बाँच्न सकेनन् । पछि तेश्रो सन्तानको रुपमा राधवेन्द्रको २०४१ मा जन्म भएको हो । हाल एक छोरा र एक छोरीका पिता महतो राजनीतिमा नलागेका भए सायदै व्यापारी हुन्थेँ होला भन्छन् ।

बिस्तारै समय उनको पक्षमा पर्दै थियो, देखेकोले मात्रै हुन्न लेखेको पनि हुनुपर्छ भनेझैँ, उनको चिनजानमा रहेका नेपाली सेनाका कर्णेल शैलेन्द्र महतसँग भेट भयो । भेटमा शैलेन्द्रले सोधेछन्, राजेन्द्र तिमी के गर्दैछौ ? उनले जवाफ दिए, के गर्नु खाली छु । जागीर खान पाए हुन्थ्यो भनेको जागीर नै पाइदैन । उसो भए जागीर खाने हो त ? भनेर उनले दरबारमार्गमा रहेको अन्नपूर्ण ट्राभल एजेन्सीमा जान सुझाए । ट्राभल एजेन्सीका एमडी थिए्, नवराज घिमिरे । उनले आफु कानून तथा प्रशासन पढेको भनेपछि ३५० रुपैयाँ मासिक तलव पाउने गरि प्रशासन हेर्ने जिम्मा पाए । उनले जागीर शुरुवात गरेको समय थियो २०३६ भाद्र ३१ गते ।

पहिचानका लागि पहिलो संघर्ष 

जागीरकै सिलसिलामा उनी एकदिन त्रिभुवन विमानस्थल पुगेका थिए । त्यहाँ एउटा अनौठो घटना भयो । विमानस्थलमा एक जना विदेशी पर्यटकले महतोको अनुहार हेर्दै अंग्रेजीमा सोधे, तिमी नेपाली हो ? (आर यू नेपाली) उनले सहजै जवाफ फर्काए, हो, म नेपाली हुँ । उनको कुरा सुनेपछि ती विदेशीले भनेछन्, मलाई त तिमी नेपाली जस्तो लाग्दैन त, तिमी कसरी नेपाली भयौ ? मैले त तिमी जस्तो मान्छे दिल्लीमा पनि देखेको थिएँ ।

लौ तिमी आफुलाई नेपाली हुँ भन्छौ भने तिमी जस्तो यहाँ अरु को छ देखाउ त ? उसले पोर्टरहरुलाई देखाउँदै भन्यो , जहाँ मधेशी मुलका काम गर्ने कोही थिएनन् । उनी नाजवाफ भए, तर उनलाई लाग्यो म यसको जवाफ अवश्य दिन्छु । उनको चित्त दुख्यो, आफू नेपाली हुँदाहुँदै पनि ती व्यक्तिले राष्ट्रियताको प्रश्न उठाएकोमा ।

एक जना पर्यटकसमेतले यस्तो कुरा भनेपछि उनको मनमा पेचिलो प्रश्न तेर्सियोे । यस प्रकार पहिचान परिचयको संकट आइ लागेपछि विदेशी पर्यटक एयरपोर्ट झर्ने बित्तिकै थाहा पाओस् नेपालीहरु यस्ता पनि हुन्छन् भनेर देखाउन उनले विदेशीले पहिलो पाइला टेक्ने विमानस्थलमा मधेशीसमेतको अनुहार देखियोस् भनेर पोर्टर सर्भिसको ठेक्का लिने निधो गरे । २०४४ साल तिरको कुुरा हो, त्यो बेला एयरपोर्टमा पोर्टर सेवा (भरीया) कोे ठेक्का खुलेको थियो । उनले आफ्नो भाइको नामबाट टेन्डर भरे, ठेक्का पनि उनलाई नै पर्यो ।

उनले ठेक्का पाएपछि धेरैले प्रश्न गरे यो मधेसीले कसरी ठेक्का पायो भनेर, निकै चर्चा भयो तर, उनलाई जसरी पनि काम गर्नु थियो, अनि देखाउनु थियो मधेशमा बस्ने नेपाली कस्ता हुन्छन् भनेर । लगत्तै मधेशबाट करिब डेढ दुइसय जना कामदार बोलाए । कुर्ता पैजामा लगाएका मधेशी पहिरनमा त्यति धेरै मधेशी समुदायका मानिस एयरपोर्टमा एकै पटक देखिएपछि तहल्का नै मच्चियो । कतिले नानाथरी आरोप लगाए, एयरपोर्टमा काम गर्ने मानिस भारतबाट ल्याइयो भनेर । रामराजासिहंका मान्छे भित्रिए, अब बम पड्काउने भए पनि भन्न भ्याए ।

यतिसम्म कि काम गर्न जानका लागि उनीहरुलाई एयरपोर्ट छिर्ने इन्ट्री पास समेत दिइएन । त्यो बेला एयरपोर्टका म्यानेजर थिए, शेलेन्द्रराम शर्मा । प्रहरीका उच्च ओहोदामा काम गर्ने राई थरका अर्का एक व्यक्ति थिए । उनीसँग राजेन्द्रले सबै समस्याको पोको फुकाए । मधेशका मान्छेलाई यसरी राख्न मिल्दैन भने भन्नु होस् के कारणले मिल्दैन ? के उनीहरु नेपाली नागरिक होइनन् ? अनुहार हेर्दा इन्डियन जस्तो होला तर सबै मधेशी हुन्, के मधेशी नेपाली नागरिक होइनन् र ? कि मधेसीले यहाँ काम गर्न पाउँदैनन् भन्नुपर्यो । होइन भने, काम गर्नलाई पास दिनुपर्यो । यदि मधेसीले यहाँ काम गर्न पाउदैनन् भने पहाडीयाले पनि मधेसमा काम गर्न पाउने छैनन् हेक्का राख्नुस् भनेपछि तुरुन्त पासको व्यवस्था मिलाइयो ।

पछि एयरपोर्टमा अरु १५० जना थपेर व्यागेज कार्गो र मेल ह्याण्डलिंगको काममा जनशक्ति व्यवस्थापन गरे । त्यसमा केही पहाडी समुदायका काम गर्ने पनि थिए । उनले ६ वर्षमा २ वटा टेन्डर हात पारेर त्यहीँ काम गरे ।

पञ्चायतकाल कै कुरा थियो, त्यतिबेलाको सद्भावना परिषद्का अध्यक्ष गजेन्द्रनारायण सिंहसँग महतोको एयरपोर्टमा भेट भयो । एयरपोर्टमा अधिकांश मधेशी मुलका काम गर्नेलार्इ देखेपछि उनले महतोलाई भने, राजेन्द्र जी, ए कैसे हो गया ? इतना मधेशी यहाँ कैसे आगए ? महतोले जवाफ दिए– ‘आप जो कहते है, और मै करता हुँ । आप मधेशीके लिए कहते है, और मै उसीबात को करता हुँ ।’ उनको कुरा सुनेपछि गजेन्द्रनारायण धेरै खुशी भए ।

उनले थप जवाफ दिए, दुनियासे यहाँ नेपालमे आने वाले लोग ओह विदेशी जाने कि, नेपाली कैसे कैसे चेहेरेका होते है । बस यही कुरा उनलाई प्रमाणित गर्नु थियो र उनले त्यो काम गरेरै देखाए । तर, महतो मधेशको सक्रिय राजनीतिमा लागेपछि ५० सालमा रामहरि जोशी पर्यटन मन्त्री भएका बेला उनले संचालनमा ल्याएका सवै ठेक्कापट्टा बन्द गरिए ।

गजेन्द्रनारायणले ताने सक्रिय राजनीतिमा

२०४६ सालको बहुदलीय व्यवस्था ल्याउन आन्दोलन चर्किएको थियो । तत्कालीन सद्भावना परिषदलाई उनले सहयोग गर्दै आएका थिए । सदभावना परिषदले सामाजिक संस्थाको रुपमा मधेशको वकालत गर्दै आएको थियो । परिषदको पर्चा पम्फलेटदेखि लिएर आर्थिक सहयोग महतोले पनि गर्थे । २०४६ चैत्र २६ गते नेपालमा बहुदल घोषणा भयो । २७ गते बिहान नेपालमा बहुदल आएको खुशीयालीमा बानेश्वरमा विजयी जुलुस निकालिएको थियो । त्यहाँ उनको गजेन्द्रबाबुसँग भेट भयो ।

महतोले भने, ‘अब त देशमा प्रजातन्त्र आयो, धेरै उपलब्धी प्राप्ति भए ।’ तर, गजेन्द्रबाबुले उनलाई सचेत गराउँदै तुरुन्तै प्रतिक्रिया जनाए, मरिचमानका शासन गया, गणेशमानका शासन आया, इससे हमे क्या फरक पडेगा । मधेशीको अभी क्या हुवा है, अपने लिए तो खुद लडना पडेगा । (केही आएको छैन् मरिचमानको शासन सकियो गणेशमानको शासन सुरु भयो । हाम्रो अधिकारको लागि हामी आफै लड्नुपर्छ ।)

उनले भनेका ती शब्दहरु महतोको जीवनमा सबैभन्दा ठूलो राजनीतिक शिक्षा थियो । त्यसपछि उनी व्यवसाय भन्दा राजनीतिमा बढी सक्रिय भएर लागे । उनको सद्भावना पार्टीमा आवद्धता भयो । पार्टीमै लागेर केहीगर्ने लक्ष्यका साथ काम गर्न थाले ।

दैनिक जसो गजेन्द्रबाबुुसँग उनको भेट बाक्लियो । उनीसगँको भेटले उनलाई राजनीतिमा लाग्न प्रेरित गर्दै लग्यो । एकदिन सर्लाहीकै कांग्रेस नेता रामहरि जोशी १७ जना नेता कार्यकर्ताका साथ उनको अफिसमा आए । महतो उनीसँग पनि लोकतान्त्रिक आन्दोलनमा सकृय भएर लागेका थिए ।

त्यो भेटमा नेता जोशीले महतोलाई कांग्रेसमा आउन आग्रह गरेपछि सदभावना पार्टीको पर्चा देखाउँदै त्यसमा उल्लेख भएका ९ बुँदे कुरा कांग्रेसले पुरा गरे आफू कांग्रेसमा जाने बताए पछि जोशीले आनाकानी गरेको बताउँछन् । त्यतिबेला सर्लाहीमा जातीय राजनीति हावी हुन्थ्यो । बहुदलीय व्यवस्थाभन्दा पहिले आफू जस्ताले राजनीति गर्नु हुन्न भन्ने उनको मनमा सँधै आउथ्यो । तर, बहुदलीय व्यवस्थामा आइ सकेपछि उनकोे सिद्धान्त सम्बन्धित मुद्धामा हुनु पर्छ भन्ने भियो । सिद्धान्तमा पार्टी बन्ने हो, मधेश र मधेशीका लागि लड्ने हो भने त्यहाँ बस्ने सबै मधेशी, दलित जनजाति, मुस्लिम, थारुका साथै पहाडमा बस्ने शोषण उत्पीडनमा परेका सबै समुदायको हक अधिकारका लागि पनि लड्नु पर्छ भन्ने थियो ।

२०४८ को चुनावमा उनलाई उठाउन गजेन्द्रनारायणबाबुले सहयोग गरे । चुनावमा लड्ने भएपछि उनलाई केन्द्रीय संसदीय समितिमा राखियो । पहिलो पटक पार्टीको टिकट पाएर सर्लाही क्षेत्र नम्बर २ बाट उनी चुनाव लडे । त्यो बेला सर्लाहीमा सद्भावनाको राम्रो पकड थियो, चुनाव हुनुभन्दा ३ दिन अघि ठूलो जुलुस निकालियो, त्यहाँ अरु पार्टीले षडयन्त्र गरे । एक महीनासम्म उनकै पक्षमा भएको माहोल मौन समयमा अरु पार्टीबाट षडयन्त्र भयो । उनले चुनाव हारे तर त्यो पराजयले उनलाई अझ उर्जा मिल्योे । अब डटेर राजनीति गर्नुपर्छ भन्ने दृढ संकल्पका साथ उनले पार्टीमा निकै सक्रियता बढाए ।

महासचिव पद लिन इन्कार

२०५१ सालमा पार्टी अध्यक्ष गजेन्द्रनाराण सिंहले सद्भावना पार्टी प्रवक्ताबाट पार्टी महासचिव बनाए, त्यो पनि उनलाई नसोधी । त्यो बेला अर्का महासचिव थिए, हृदेयश त्रिपाठी । उनी निर्वाचित सांसद थिए भने राजेन्द्र पराजित । त्यसो भए लगत्तै राजेन्द्रले गजेन्द्रलाई भनेका थिए– म पनि चुनाव जितेर सांसद भएर आएपछि महासचिवको जिम्मेवारी लिन्छु अहिले म प्रवक्ता मै ठिक छु । यसो भन्दै उनले त्यो पद इन्कार गरे । उनलाई अब कुनै पनि हालतमा निर्वाचन जित्नु लक्ष्य थियो, त्यसैको जगमा उनले सुर्यबहादुरलाई चुनावमा पराजित गरे ।

२०५१ सालमा मध्यावधिक चुनावमा पुर्वप्रधानमन्त्री सुर्यबहादुर थापा त्यही क्षेत्रबाट चुनाव लड्न पुगे । तर, उनले सुर्यबहादुरलाई जिते तर चुनाव जित्न सकेनन् । त्यो चुनाव कांग्रेसले जित्यो, उनी दोस्रो भए । उनी त्यस बेला सद्भावना पार्टीको पार्टी प्रवक्ता भएर जिम्मेवारी निभाइ रहेका थिए । राजनीतिक सक्रियतासँगै महतोले २०५४ सालमा पार्टीको तर्फबाट नागरिकता आयोगको संयन्त्रमा रहेर जिम्मेवारी बहन गरे ।

पहिलो पटक पराजय ब्यहोरेका उनले ०५६ सालको चुनाब जिते, सुर्यबहादुरलाई त्यसबेला पनि आफूभन्दा पछि पारे । पूर्व प्रधानमन्त्रीसँग दुई पटक चुनाव लडेका उनले सुर्यबहादुरलाई दुवै पटक हराए । समय अघि बढ्रदै गयो , उनले २०५७ सालमा सद्भावना पार्टीको महासचिव भएर जिम्मेवारी निभाउने अवसर पाए । पार्टीको जिम्मेवारी सम्हाल्दै जाँदा उनले २०६० सालमा सद्भावना पार्टी आनन्दीदेवीको महासचिव भएर पनि जिम्मेवारी पुरा गरे ।

पद पाऊ पद बचाऊले पार्टी विभाजनका श्रृंखला

पार्टी विभाजनका कारणहरुमा विशेष गरी पद पाऊ पद बचाऊ बुिझएको थियो । विभिन्नकाल खण्डमा उनको पार्टी पटक–पटक विभाजित भएको थियोे । एक पटक २०५१ सालमा मनमोहन अधिकारीको ९ महिने सरकारको पालामा पार्टीको अनुमति बिना संसदको सार्वजनकि लेखा समितिको सभापतिमा सभापतिको पदका लागि एमालेसँग मिलेर हृदेयश त्रिपाठीले लिएपछि पार्टीले उनलाई अनुशासनको कारवाही भयो । त्यो बेलामा उनले माफी पाउनु पर्छ, निस्कासन गर्नु हुँदैन भन्ने राजेन्द्रको मान्यता थियो ।

तर, गजेन्द्रले नमानेपछि हृृदेयश त्रिपाठीद्वारा विभाजित पार्टी नेपाल समाजवादी जनता दलमा आवद्ध भए । तर पनि राजेन्द्रले हृदयेशलाई सहयोग गरे । ऊ बेला जनता दलको अध्यक्ष रामेश्वरराय यादव, महासचिव हृदेयश र राजेन्द्र प्रवक्ता भएर काम गरे । अहिले उनीहरु कम्युनिष्टमा छन्, मधेशवादी पार्टी छाडेका छन्, एकै ठाउँमा उभिएका छन् । पार्टी चल्न नसकेपछि केही दिनको अन्तरालमा फेरि पार्टी एकीकरण भयो ।

दल बदल कानूनका कारण हृदेयश त्रिपाठीको मन्त्री पद धरापमा पर्ने भए पछि पार्टी संचालनमा सहजता ल्याउन एकीकरण भएको थियोे । त्यो बेला राजेन्द्रले निकै दवाव दिएर काम गरेका थिए ।

अर्को विभाजन 

२०५८ सालमा गजेन्द्रबाबुको देहान्तपश्चात २८ सदस्यीय केन्द्रीय समितिमा २२ जनाको बहुमतले राजेन्द्र अध्यक्ष बन्ने भएपछि हृदेयशले खुलेरै विरोध गरे र पार्टी विभाजनको धम्की दिए । राजेन्द्रले बद्रीप्रसाद मण्डललाई पार्टीको अध्यक्षमा प्रस्ताव गरे । पार्टीको सहयोगी शुभचिन्तकहरुले भर्खर गजेन्द्रबाबुको निधन भएको छ, पार्टी टुक्रयाउन नदिनुस, यसले राम्रो सन्देश जाँदैन, भयो छोड्दिनुस भने तर, उनलाई पटक्कै चित्त बुझेको थिएन ।

बद्रीको ऐतिहासिक पृष्ठभूमि राजावादी थियो, त्यसैले पार्टी भित्र मैले नेतृत्व लिनु पर्छ भन्ने चिन्तनको सोंचले फेरि विभाजन हुन्छ भन्ने डरमा उनलाई छाडिदिएँ, उनी भन्छन् । तर दुर्भाग्य त्यसबेला भयो, जव ९ महिनापछि राजाले प्रतिगमन गरे । त्यो बेला बद्री मण्डल प्रतिगमनको पक्षमा उभिए, राजाले उनलाई उपप्रधान मन्त्री बनाए र पार्टीलाई मण्डलले धोका दिए ।

त्यसैले पछि प्रतिगमनको विरुद्धमा लड्न उनले पार्टी विभाजन गरेर गजेन्द्रबाबुकि धर्मपत्नी आनन्दीदेवीसिंहको अध्यक्षतामा नेपाल सदभावना पार्टी आनन्दीदेवी पार्टी गठन भयोे । यसमा फेरि हृदेयशले आफ्नो गल्ती स्वीकार गर्दै आनन्दीदेवी पार्टीमा आउन बाध्य भए । यस प्रकार त्रिपाठीकै कारण र व्यवहारले गर्दा तत्कालीन अवस्थामा पार्टीले क्षति व्यहोर्नु परेको राजेन्द्रको बुझाइ छ ।

लोकतन्त्र आइसकेपछि बद्री मण्डलले पार्टीको अध्यक्षता छोडे र लक्ष्मणलाल कर्णले नेतृत्व सम्हालेपछि फेरि दुवै पार्टी एकीकरणको विचार मिल्यो र एकीकरण भयो । तर, फेरि त्यो बेला हृदेयशले त्यसको विरोध गरे तर त्यस सफल हुन सकेन । एकीकरणको सर्त अनुसार आनन्दीदेवीकै अध्यक्षतामा पार्टीको महाधिवेशन वीरगंजमा गर्ने निर्णय भएको थियो । त्यो महाधिवेशन स्थलमा अवरोधका बाबजुद सवै नेता कार्यकर्ता पुगे ।

केही आनन्दी देवीसहित श्यामसुन्दर गुप्ता र केही नेतालाई हृदेयश त्रिपाठीले महाधिवेशनमा जान रोक लगाए, जान दिएनन्, काठमाडौमा रोके । तर, निर्धारित समयमा सबै तयारी भएकाले अधिधेशन सफल भएको थियो । त्यो महाधिवेशनबाट राजेन्द्र उपाध्यक्षबाट अध्यक्ष भए । त्यहाँबाट निर्वाचन आयोगमा आधिकारिकताको मुद्धा पर्दा हृदेयश त्रिपाठीको पहलमा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएका श्यामसुन्दर गुप्ताले निर्वाचन आयोगमा केन्द्रीय समितिका सदस्यलाई उपस्थित गराउने दिन राजेन्द्रको पक्षमा रहेका अनिल कुमार र लक्ष्मणलाल कर्णलाई सुन्धाराबाट मन्त्रीको झण्डा भएको गाडीमा अपहरण गरी मन्त्री क्वार्टरमा लगी थुनेका थिए ।

त्यसरी श्यामसुन्दर गुप्ताले निर्वाचन आयोगमा आफूलाई बहुमत देखाई पार्टी कब्जा गरे । पछि निर्वाचन आयोगमा राजेन्द्रले आधिकारिक रुपमा पार्टीको रुपमा पत्र पठाए र अर्को पार्टी दर्ता भयो । पार्टीको नाम सदभावना पार्टी भयो, राजेन्द्र अध्यक्ष भए र चुनाव चिन्ह तीर राखियो ।
उपेन्द्र यादवको फोरम र सद्भावनाको संयोजनमा लामो छलफलपछि संयुक्त मधेशी मोर्चा गठन भयो र दोश्रो मधेश आन्दोलनको घोषणा भयो । २०६४ मा सरकारमा सरकारसँग १६ बुँदे सहमति भयो ।

अन्तिम विभाजन 

पहिलो संविधान सभाको निर्वाचन पछि पटक–पटक सरकार र सत्ताका कारण मधेशवादी पार्टी त्यसको सिकार भए । त्यसमा सद्भावना पार्टी पनि सिकार भयो । सद्भावना पार्टी भित्र पार्टी फुटाउने र सरकारमा जाने आरोप प्रत्यारोप हुँदा अनिलकुमार झा माथि कारवाही हुँदा संसदबाट ४० प्रतिशतको संख्या पुर्याई पार्टी विभाजन गरे । पछि नेपाल सद्भावना पार्टीबाट मन्त्री पनि भए । अनिल झाले पार्टी फुटाउँदै छ, पार्टी फुटाई सरकारमा जाँदैछ भनी आशंका गरि सूचना दिई उनलाई कारवाही गराउनेहरु समेतले नै त्यसको लगत्तै फेरि आफै पार्टी फुटाए । कालान्तरमा पछि यी घटनाहरु रहस्यमय नै भयो ।

अन्त भला तो सब भला भने जस्तै, अन्तत्वगत्वा तेश्रो मधेश आन्दोलनताका सम्पूर्ण मधेशी जनता र उनीहरुको भावना मधेशी पार्टी एक होऔं भन्ने थियो । मधेशी शहीदको सपना र आम मधेशी जनताको भावनालाई सम्मान गर्दै मधेशी मोर्चाका ७ मध्ये ६ राजनीतिक पार्टी राजनीतिक दल एकीकृत भइ २०७४ बैशाख ७ गते काठमाडौंमा पार्टी एकताको घोषणा गर्दै एकीकृत पार्टीको रुपमा राष्ट्रीय जनता पार्टी नेपाल घोषणा गरे ।
यो एकतामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम आएन । आउन चाहेन । बाँकी ६ पार्टी ( महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्रको सद्भावना पार्टी, महेन्द्र राय यादवको तराई मधेश सद्भावना पार्टी, सरतसिंह भण्डारीको राष्ट्रिय मधेश सद्भावना पार्टी, अनिल झाको नेपाल सद्भावना पार्टी र राजकिशोर यादवको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गरी ६ पार्टी एकता भई हिमाल पहाड तराई मधेशका शोषण उत्पीडनमा परेका मधेशी, दलित, अल्पसंख्यक, जनजाति, मस्लिम, थारु र पछाडि पारिएका आम जनताको पहिचान, सम्मान, समानताको प्रतिनिधित्वको लागि अहिले पनि संघर्ष गरिरहेको छ ।

प्रतिगमनविरुद्ध लडेका महतो

उनी छोराको उपचारका क्रममा दिल्लीमा थिए । ०५९ माघ १९ मा राजाले देशमा कू गरे । राजाले देशको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिए । लगत्तै उनले दिल्लीमै पत्रकार सम्मेलन आह्वान गरेर भने– ‘अब माओबादीसहित ७ दल मिलेर प्रतिगमनको विरुद्ध लोकतन्त्रका लागि लड्नुको विकल्प छैन ।’

अन्तर्राष्ट्रिय स्तरमा यसले निकै चर्चा पायो । त्यो बेला नेपालमा राजनीतिक बैठक बस्ने, छलफल गर्ने माहोल थिएन, प्रतिबन्ध लगाइएको थियो । त्यसको केही दिनपछि गिरिजाप्रसाद कोइरालालगायत ६ दलका नेताहरुसहितको संयुक्त छलफल दिल्लीमा भयो । महतोलाई माओवादीलाई साथमा लिएर जाने कुरा किन गरेको भनि त्यो बेला प्रश्न गरियो । जंगल पसेको, बन्दुक उठाएको सशस्त्र पार्टीलाई एउटै ठाउँमा ल्याएर प्रतिगमनको विरुद्धमा जाँदा आन्दोलन कसरी सफल हुन्छ भनेर ।

शान्तिपूर्ण रुपमा आफूलाई उभ्याएका पार्टीमा पनि माओवादीलाई मिसाउँदा आन्दोलन सम्भव होला त ? प्रश्न गरियो । उनले त्यो बेला भनेका थिए , संसारमा असम्भव भन्ने कुरा केही छैन, शान्ति प्रकृयाको शुरुवात अब यहीँबाट हामीले गर्नुपर्छ, माओवादीलाई राजनीतिमा ल्याउने सही समय यही हो, माओवादीलाई नेपालको राजनीतिक मुलधारमा जसरी पनि ल्याउनु पर्छ ।

त्यो बेलामा गिरिजाबाबुले महतोलाई भनेका थिए , के योे सम्भव छ ? जंगल पसेको पार्टी एकाएक हामीसँग सहकार्य गर्छ गर्दैन, फेरि अन्तर्राष्ट्रिय दबाव हुन सक्छ, भारतले के भन्ने हो । उनलाई महतोले सबै प्रष्ट्याए, तपार्इ हाम्रो अभिभावक हो, यो कुरामा अरु सबैलाई विश्वास दिलाउनुस्, सबैसँग छलफलको माहोल बनाउनुस् । हामी अवश्य सफल हुन्छौँ । पछि यो कुरामा सबै दल सहमत भए, प्रतिगमन विरुद्ध उत्रिने माहोल पनि बन्यौ ।

दिल्लीमा १२ बुँदे सहमति भयो, उनी नेपालमा आएर आन्दोलनको माहोल मिलाए । २०६२–०६३ को आन्दोलमा होमिए । उनी आफ्नो पार्टीबाट आन्दोलनको संयोजक थिए । शुशिल कोइरालासँगै अरु राजनीतिक दलहरु आन्दोलनमा हिँडे । त्यही बेला उनले सबै भनेका थिए हेर्नुस्, सबै मिलेर लोकतन्त्रको लागि लड्दैछौ, पछि यो वा त्यो कुरामा मधेशीलाई भेदभाव गर्न पाइने छैन भन्द्या छु । अरु पार्टीका नेताले उनलाई आश्वासन दिन्थे, यो सबैको साझा आन्दोलन हो, नेपाल र नेपालीको हितका लागि हो, यसमा कोही कसैलाई अन्याय हुँदैन , सबै बराबर हो, मेरो तेरो भन्ने हुँदैन, ढुक्क हुनुहोस् ।

ठुलो संर्घष र बलिदानीपछि ०६३ पुस १ गते अन्तरिम संबिधानको मस्यौदामा हस्ताक्षर भयो । हस्ताक्षर गर्ने बेलामा सदभावना पार्टीसहित ७ दल र माओवादी पनि थियो, तर त्यो ड्राफ्टमा सदभावनाले उठाएका मधेशको मूल मुद्दा संघीयता, समानूपातिक प्रतिनीधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतका कुरा नलेखिएपछि सदभावनाले सोही दिन पुस १ गते मध्य रातमै ३ बुँदे नोट अफ डिसेन्ट लेख्न बाध्य भयो ।
त्यही विषयलाई लिएर ती नेताहरुलाई महतो भनेका थिए, भनियो एउटा तर गरियो अर्को ।

उनले प्रश्न गर्दै भने, हम इसी बातके लिए लडे थे ? जव संविधान बनेका तव फिर मधेशी कत्लेआम होगा ? त्यो बेलामा पुष्पकमल दाहालले ढाडस दिँदै भने, होइन होइन, यो सवै पछि मिलि हाल्छ, राज्य पुनर्संचनाको कुरा लेलिएको छ, सबै भइ हाल्छ, नआत्तिनुस् । उता गिरिजाबाबुको भनाइ अर्कै थियो, सबैको सहमति भए न कुरा मिल्छ, के गर्नु त । त्यो बेला कांग्रेस, एमाले र माओवादीले बेइमानी गरेको उनको आरोप छ ।

सद्भावना पार्टीको भूलमाथि सरकारको कमजोरी

पहिलो मधेश आन्दोल
२०६३ पुस १ गते अन्तरिम संबिधानको ड्राफ्टमा हस्ताक्षर भएपछि पुस १० गते सद्भावना पार्टीले त्यसकै विरुद्धमा आन्दोलन स्वरुप १ दिन मधेस बन्द आह्वान गर्यौ । आन्दोलन सफल पनि भयो । तर त्यसको भोलिपल्ट सरकारी पक्षबाट दमन गर्दा नेपालगञ्जमा एक जनाको हत्या भयो, कमल गिरीलाई शहीद बनाइयो ।

उनी भन्छन्, त्यो बेला मधेश विरोधीहरुले मधेश विरुद्धमा नेपालगंजमा ताण्डव नृत्य गर्यौ । प्रहरी प्रशासन कै अगाडि मधेशीहरुको घर पसल लुटपाट तथा आगजनी जस्ता अमानवीय कुकृत्य भए ।

त्यसको प्रतिकार स्वरुप पार्टीले आन्दोलन उठाउन नसक्नु नै महतो कमजोरी ठान्छन् । उनी भन्छन्, ‘हाम्रो पार्टी चुक्यो, हामी चुक्यौँ ।’ उनको नजरमा त्यो पहिलो गल्ती थियो । किनभने सदभावनाबाट हृदेयश त्रिपाठी मन्त्री थिए । उनले त्यो पद छोड्न नसक्दा आन्दोलनको अवसरबाटै बञ्चित जसले गर्दा जनताको भावना अनुसार पार्टी अगाडी बढ्न सकेन । त्यो पहिलो भूल थियो ।

अर्को भूल
०६३ माघ १ गते अन्तरिम संसदबाट अन्तरिम संविधान जस्ताको तस्तै जारी भयो, त्यही अन्तरिम संसदमा सोही दिन माओवादी संसदमा प्रवेश गरेको थियो । त्यो संसदमा महतोले भनेका थिए , हाम्रो मागलाई वेवास्ता गरियो । यसकै जगमा यदि मधेसमा आगो बल्यो भने कुनै दमकलले निभाउन सक्ने छैन् । संसदमा बोलेकाले आन्दोलनको माहोल त बन्यो तर, त्यतिबेला पनि पार्टी चुक्यो, कारण थियो त्यही मन्त्री पद । माघ ५ गते लहानमा रमेश महतोको हत्या भयो । त्यतिबेला लहाल र गौरमा ठुला मधेश आन्दोलन भएका थिए । मधेशमा ठूलो आगो लाग्यो, दर्जनौ शहादत भए ।

त्यतिबेला उपेन्द्र यादबले माइतीघर पुगेर संबिधान जलाए । सदभावना पार्टीले २०औ वर्ष लगाएर बनाएको मधेशवादको बम उपेन्द्रले आगो लगाए । जसको गर्दा उपेन्द्र रातारात उदाउने अवसर पाए । मेहनत मधेशवादको कुरा सदभावनाले गर्यो तर त्यसको जस लिए उपेन्द्रले । त्यसकै मौका छोपेर उपेन्द्रले फोरमलाई पार्टीको रुप दिए । पछि सरकारसँग २२ बुँदे सम्झौता गरेपछि उनकै पार्टीका मान्छेले उपेन्द्रलाई गद्धार भने ।

दोश्रो मधेश आन्दोलन

यसै बीचमा सदभावना पार्टीको आधिकारिक लडाइका बेला श्यामसुन्दर गुप्ताले अनिल झा र लक्ष्मणलाल कर्णलाई अपहरण गरि निर्वाचन आयोगमा आफ्नो बहुमत देखाइ पार्टी कब्जा गरे । त्यसमा हृदयेश त्रिपाठीले गुप्तालाई काखी च्यापेका थिए । त्यस बेला महतो सदभावना पार्टीको उपाध्यक्ष भइ सकेका थिए । पार्टीतर्फबाट सलनु पर्ने वैचारिक दृष्टिकोणमा उनको धारणा निर्णायक हुने भइसकेको थियो । निर्वाचन आयोगमा भएको हविगतले पनि हरेश नखाएका महतोले मधेसका लागि केहि गर्नै पर्छ भनेर उपेन्द्रसँंग मोर्चाबन्दी गरे ।

भर्खरै सरकारसँग २२ बुँदै सहमति गरेर मधेशलाई धोका दिएका उपेन्द्रसँग किन मोर्चा बन्दी गरेको भन्दै महतोलाई उल्टै प्रश्न गर्थे । त्यो बेला दुई जना मिल्नुको अरु विकल्प पनि थिएन । त्यसकारण महतो र यादव मिलेर संयुक्त मधेशी मोर्चा गठन गरी मधेश आन्दोलनको तयारीमा जुटे । त्यही बीचमा महन्त ठाकुरको नेतृत्वमा तमलोपा गठन भयो । पछि मधेश आन्दोलनलाई थप सशक्त बनाउन ०६४ माघ ६ गते जनकपुरमा महन्त ठाकुरसमेत जोडिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन भयो ।

यही जगमा लगत्तै १९ दिने दोश्रो मधेश आन्दोलन भयो । त्यसपछि ०६४ फागुन १६ गते माओवादीको पुष्पकमल दाहालर एमालेका माधवकमार नेपालसमेतको सहमतिमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशी मोर्चासँग ८ बुँदे ऐतिहासिक सहमति गरे ।

संविधान सभाको चुनावमा जाने बाटो खुल्यो, सदभावना पनि चुनावमा होमियो त्यो बेला आर्यघाटमा पुरयाइएको सदभावना पार्टीलाई महतोले पहिलो संविधान सभा निर्वाचनमा ९ सीट प्राप्त गरी ५औँ पार्टीका रुपमा स्थापित गराए । २०६४ सालमा भएको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित भएका उनले त्यो बेला अन्तरिम संसदको सभासद भएका थिए । संविधान सभामा मधेशबाट बलियो प्रतिनिधित्व पनि, दुर्भाग्य संविधान सभाले संविधान बनाउन सकेन ।

टीकापुर घटना फुट गराउने र शासन गर्ने नीतिको उपज

आफुलाई मधेशवादी भन्ने दलहरु पटक–पटक फुटे, सत्ता लिप्सामा लागे, संविधान सभाबाट आएका ३ पार्टी (सद्भावना, फोरम र तमलोपा ) १३ पार्टीमा विभाजित भयो । मधेशमा उनीहरुको इमेज गलत बन्यो, त्यसको सजाय दोश्रो संविधान सभा निर्वाचनमा जनताले दिए । तर, मधेशका मुद्दालाई लिएर राजनीतिक दलसँगको समन्वय बिस्तारमा महतोको सक्रियता कहिल्यै कमी भएन । मधेशका माग पूरा गराउन आफ्नो जीवन राजनीतिमा लगाएका महतोले २०७० सालमा रत्नपार्कमा भोक हड्ताललगायतका सत्याग्रह पनि गरे ।

दोश्रो मधेश आन्दोलनताका मधेशमा मधेशी र थारु बीचमा वैचारिक राजनीतिक द्वन्द्व भइरहेको थियो । महतो भन्छन्, ‘फुट गराउने र शासन गर्ने नीतिको अधीनमा लडाइयो र मधेश थरुहट आन्दोलनलाई कमजोर बनाइयो ।’

त्यही द्वन्द्वको दुरीलाई घटाउन भन्दै २०७२ साउन तेस्रो साता टीकापुरमा राजनीतिक गतिविधि लिएर महतोसहित अरु नेताहरु पनि त्यहाँ गएका थिए । त्यहाँ जनमानस जु्टाउने, सभा समारोहको माहोल मिलाउने काममा खटिएका थिए, रेशम चौधरी । उनी पार्टीका संसदीय उम्मेदवार भइ सकेको नाताले सो क्षेत्रको संयोजक पनि थिए । चौधरीले त्यहाँका सबै समुदायलाई समग्र मधेश एक ढिक्का बनाउन गरेको प्रयत्नका कारण धेरैको विचार तथा भावनामा सकारात्मक प्रभाव परेको महतो बताउँछन् ।

उनी भन्छन्, ‘हामीले त्यहाँ एउटै कुरा भनेका थियो, मधेश र थारु नमिलेसम्म यो मुलुकबाट कसैले केही पाउँदैन । थारुले पनि पाउँदैन मधेशले पनि पाउँदैन । त्यसैले मिलेर न्यायको आन्दोलन गर र आफ्नो अधिकार लेऊ ।’ अर्को कुरा आफुलाई कसले शोषण गरिरहेको छ– बुझ, अनि अघि बढ ।

साउन अन्तिम साता टीकापुरमा ५०औँ हजार जनसमुदायको उपस्थितिमा भव्यताका साथ उपलब्धिपूर्ण कार्यक्रम सकाएर उनी फर्किएका थिए । थरुहट प्रदेशका लागि लाखौँको उपस्थितीका भएको आन्दोलनलाई देखेर खस मानसिकता भएकाहरुले पचाउन नसकेर प्रतिकारमा उत्रियो । सुरक्षा निकायको उपस्थितीमा त्यहाँ अमानवीय घटना भयो, कैयौको घर जलाइयो, चेलीबेटीमाथि दुर्व्यवहार भयो ।

०७२ भदौ ७ गते टीकापुरमा भएको राजनीतिक घटना आफैमा दुखद थियो , तर राजनीतिक घटनालाई सरकारले अपराधिकरणको रुप दिनु आफैमा अन्यायपूर्ण भएको उनी ठान्छन् । नागरिक आन्दोलनमा जो मरे पनि नेपाली नागरिक नै मरे । त्यस आन्दोलनको आरोपमा अहिले पनि रेशम चौधरी, लक्ष्मण थारु लगायत कैयौँ जेलमा छन् । लोकतन्त्रको जगबाटै संघीय संसदका लागि प्रदेश उम्मेदवार बनेर चुनाव लडेका रेशम चौधरीलाई अत्यधिक मतका साथ विजयी गराएर जनताले रेशम नै जनताका प्रतिनिधि हुन् भनेर प्रमाण दिए । तर, सरकारले उनै विजयी उम्मेदवारलाई हालसम्म निर्वाचित भएको प्रमाण पत्र नदिइ सपथसमेत नराउनु कस्तो लोकतन्त्र हो, यो मुलुकमा सबैका लागि लोकतन्त्र आएको हो कि होइन भनि महतोले आक्रोश पोखे ।

थरुहट आन्दोलनको घटनामा रेशम चौधरीलगायत कैयौको रिहाइको लागि राजनीतिक पहल जारी रहेको उनी बताउँछन् । राजनीतिक घटनाको समाधान राजनीतिक स्तरबाटै हुनेमा उनी विश्वस्त छन् । जसको पहलमा राजपा लागेको छ ।

तेश्रो मधेश आन्दोलन

२०७२ असोज ३ गते नेपालको संबिधान जारी भएपनि मधेसी दलित मुस्लिम थारु जनजाति लगायत पहाडमा बस्ने दलित जनजातिसमेतको भावना नसमेटिको , खाक्रो राष्ट्रवादलाई मात्र राष्ट्रियतासँग जोडेर प्रचार गरिएको उनको बुझाइ छ । त्यति मात्रै होइन, असोज ३ गते काठमाडौंमा संविधान जारी गरि हर्ष बधाइ गरि रहँदा मधेशमा रक्तधारा बगाइएको थियो । छाती र निधारमा ताकी ताकी गोली हान्दै मधेश विरोधी संविधान जारी गरिदै थियो । एका तर्फ दीपावली मनाइँ रहँदा अर्को तर्फ मधेश शोकमा डुबेको थियो ।

त्यही असन्तुष्टिको जगमा तेस्रो मधेस आन्दोलनले निरन्तरता पायो । सिंहदरबारलाई झुकाउन ६ महीना लामो नाकाबन्दी भयो । तर, सिंहदरबारलाई कुनै प्रभाव परेन । खासमा सिंहदरवारमा दानापानी बन्द गर्ने आन्दोलन भनिएको थियो, मधेशीको हक अधिकारको लागि थियो ।
तर जनताले दुख पाए, जनतालाई जनताको विरुद्धमा भड्काइएको उनको ठम्याइ छ । त्यस आन्दोलनको नेतृत्व महतो आफैले गरेको थिए । मधेशको आन्दोलनलाई भारतको आन्दोलन पनि भनियो, पहाडमा बस्नेलाई मधेशमा बस्ने विरुद्ध गलत विचार पैदा गरिएको उनको विश्लेषण छ ।

केही खसवादी मानसिकता बोकेका खोक्रो राष्ट्रवादीहरुले मधेश विरुद्धमा काठमाडौलगायत पहाडलाई उचाल्ने षडयन्त्र भयो । त्यसक्रममा उनको काठमाडौमा रहेको निवासमा पनि आक्रमण गराइयो, उनी भन्छन्, नेपाली नेपाली बीचको भावनालाई सम्मान गर्न नसक्नु आफैमा बिडम्बना हो । आन्दोलनका क्रममा उनी विराटनगर नाकामा पुगेका थिए ।

त्यहाँ उनीमाथि सांघातिक आक्रमण भयो , टाउकोमा गम्भीर चोट लाग्यो । त्यही बेला जनताले उनको जीवनरक्षाको कामना गर्दै स्वास्थ्यलाभ होस भनि मधेशमा पूजा पाठसमेत गरे । उनी भन्छन्, मलाई नियोजित ढङ्गले सिध्याउने षडयन्त्र गरियो, धन्न बाँचियो । सबै जनताको भावनालाई सम्मान गर्दै आफुले सधै राजनीति गरेको बताउने उनले नाकाबन्दीको व्यापक दुरुपयोग हुने देखेपछि आन्दोलन फिर्ता लिएको प्रष्ट्याए ।

सरकारमा मन्त्री बनेर जाँदा

पहिचानको अधिकार प्राप्तिका लागि सडक र सदनको प्रयोग गर्दै आएका महतोले सरकारको मोर्चासमेत प्रयोग गर्ने भन्दै प्रथम मधेश आन्दोलनको एजेण्डा कार्यान्वयन गराउन उनी पहिलो पटक गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीमण्डलमा सहभागी भएका थिए । २०६५ मा कोइराला नेतृत्वको मन्त्रीमण्डलमा महतो उद्योग वाणीज्य तथा आपूर्ती मन्त्रीको रुपमा सहभागी भए । तर, मधेश विरोधी सरकारको चारै भित्ता मधेशका पक्षमा नदेखिएको भन्दै ९ महिना नपुग्दै उनले सरकारबाट राजीनामा दिए । त्यसको भोलि पल्ट बिहान निर्वाचन आयोगको अगाडी धर्ना दिन बसेका उनलाई मन्त्री हुँदै अंगरक्षकसहित गिरफ्तार गरि महाराजगंज प्रहरी हिरासतमा पुर्याइएको थियो ।

संविधानसभाको प्रथम निर्वाचनपछि संविधान सभामा पहिचानवादीहरुको अत्यधिक समर्थन रहेको थियो । त्यसमा आफ्नो पक्षमा संविधान निर्माणका लागि दवाव बनाउन पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ०६६ मा वाणीज्य तथा आपूर्ती मन्त्री नै बनेर गए ।

तर, जुन उद्देश्यका साथ सरकारमा गएका थिए त्यहाँ संविधान निर्माण हुन सकेन । प्रधानमन्त्री दाहालले संविधान निर्माणको सट्टा नेपाली सेना प्रमुखलाई हटाउने काममा लाग्दा महतोले दाहाललाई एक पटक होइन १० पटक साेंच्नुस भन्दा भन्दै पनि नमानेपछि उनले सरकारबाटै समर्थन फिर्ता लिई मन्त्री पदबाट राजीनामा दिए, पछि माधव नेपालको नेतृत्वमा सरकार बनाउन तर्फ लागे । नेपाल नेतृत्वको सरकारमा सोही जिम्मेवारी लिएर महतो ०६७ मा सरकारमा सहभागी भए । तर, नेपाल नेतृत्वको सरकारले पनि संविधान बनाउन सकेन ।

सरकार ढाल्ने र आफू नेतृत्वमा जाने प्रवृत्ति हावी हुँदै गयो । माधव नेपाललाई सरकारबाट गिराएर उनकै पार्टीका नेता झलनाथ खनाललाई माओवादीको सहयोगमा प्रधानमन्त्री बनाइयो । झलनाथले पनि काम गर्न सकेनन् । उनले पनि राजीनामा दिए । पछि म संविधान निर्माण गर्छु भन्दै डा . बाबुराम भट्टराई अघि सरे । त्यसमा सबै मधेशवादी पार्टीहरु ठूलो आकारका साथ सरकारमा सहभागी भयोे । जुन नेपालको इतिहासमा मधेशी बाहुल्यताको संसद थियो ।

त्यहीबेला महतो ६८–०६९ मा डा. भट्टराई नेतृत्वको मन्त्रीमण्डलमा महतोले स्वास्थ्य मन्त्री बनेर काम गरे । तर, ४ जना प्रधानमन्त्रीसँग सरकारमा रहेर काम गर्दा उनले कहिल्यै सहज महसुस गरेनन् । उनी भन्छन्, संसदको चारै पर्खाल मधेश विरोधी थियो । क्याबिनेटमा बसेर छलफल गर्दा साह्रै असहज महसुस गरेँ । क्याबिनेटमा बसेर संघर्ष गर्नु सडक आन्दोलन भन्दा कठिन थियो उनका लागि ।

मन्त्रालयका सचिवहरुले सहयोग गरे पनि सरकारमा एकले अरुलाई अधिकांश समय सहयोग गर्ने काम भएन । तर, अदम्य शाहसका साथ मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक उनले निभाए । भ्रष्टाचार जस्ता गैरकानूनी काममा उनले कहिले पनि कोही कसैसँग सम्झौता गरेनन् । आर्थिक, सुशासनका विषयमा सँधै सजग रहेका उनले कोही कसैलाई औँला उठाउने ठाउँसमेत दिएनन् ।

रकारमा मन्त्रीको रुपमा रहँदा वा सांसदका रुपमा रहँदा होस्, उनले विभिन्न देश घुम्ने र त्यहाँको अवस्था बुझ्ने अवसर पाए । अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड, सिंगापुर, यूके, अमेरिका, जोर्डन, थाइल्याण्ड, बंगलादेश, मोरीसस, क्यारेवियन देश ट्रीनीडाड एण्ड टेवागो, दक्षिण अमेरिकी देश सुरीनेम, चीन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, कम्बोडिया, इन्डोनेसिया तथा भारतलगायतका देशमा भ्रमण गरि त्यहाँको भू–राजनीतिक तथा कुटनीतिक व्यवस्था नजिकबाट नियाले ।

राजनीतिमा भर्खरै प्रवेश गर्दादेखि नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहुँच बढाएका महतोले विश्व हिन्दी सम्मेलनमा पनि सहभागिता जनाए । उनले २०५० सालमा मोरीसस भएको चौथो हिन्दी सम्मलेनमा सहभागिता जनाए । महतो ट्रीनीडाड एण्ड टेवागोमा भएको पाँचौँ हिन्दी सम्मेलनमा पनि २०५३ सालमा सहभागी भए । छैठौँ सम्मेलनमा सहभागी नभएका उनले सुरीनेममा भएको सातौँ हिन्दी सम्मेलनमा सहभागी भए । पछि अमेरिकाको न्यूयोर्कमा भएको आठौँ हिन्दी सम्मेलनमा पनि सहभागी भए ।

नागरिकतामाथिको लडाइँ

नेपाली नागरिक भएर पनि नागरिकता नपाउनु आफैमा विडम्बना हो । मधेशमा बस्नेहरु पुस्तौ पुस्ताबाट त्यहीँ बसेका छन् तर, उनीहरुलाई नेपाली होइनौ भनी दिँदा स्वाभिमानमा आँच आउदो रैछ, उनी भन्छन् । दरपुस्ता नेपालमा बसिरहेको छ भने उसलाई भारतीय भन्नु कुनै हालतमा न्याय संगत होइन पनि । अनुहार हेरेकै भरमा नेपाली होइन भन्नु पहिलेदेखि कै समस्या छ त्यसैले यसमा सबैकोे सँधै ध्यान जानु आवश्यक ठान्छन् महतोले ।

नेपाली हो भने नागरिकता पाउनुपर्छ भन्ने लडाई उनले जति यो देशमा अरु कसैले गरेको छैन् होला सायद । २ वर्ष अघि नागरिकताको घुम्ती टोलीमा नाम दर्ता गराएका उनले ३४ सालमा सर्लाहीबाट जन्मसिद्धको आधारमा नागरिकता लिएका उनलाई कहिले काँही भारतीय भनि होच्याउँदा उनलाई सबैभन्दा चित्त दुख्ने गरेको बताउँछन् ।

राष्ट्रियतासँग कोही कसैले कसैको खेलवाड गर्नु हुँदैन उनी भन्छन् कसैको राष्ट्रियता माथिको आरोप कुनै मनोरञ्जनको विषय हुनै सक्दैन । उनी नेपालमै जन्मिएर यही नेपाली माटोमा आफ्नो सिंगो जीवन बिताएका छन् । हाथी चले बजार, कुत्ता भुके हजार भने जस्तै उनको जीवन दर्शन यही नेपाल र नेपाली जनताको हीतमा सँधै रहेको छ । जुन बाटोमा अदम्य शाहस बोकेर उनी अहिले पनि निरन्तर हिँडिरहेका छन् ।

संघीय निर्वाचनमा निधिलाई पराजित गर्दा….

संघीयता कार्यान्वयनको कडी मानिएको संघीय निर्वाचनमा २०७४ मंसीरमा भएको निर्वाचनमा सर्लाही-३ बाट ३० हजार ७ सय ४२ मतका साथ चुनाव जितेका महतो अहिले संघीय संसदको प्रतिनिधि सभा सदस्य छन् । विपक्षी नेता बिमलेन्द्र निधिलाई उनकै निर्वाचन क्षेत्रमा महतोले हराएका थिए । महेन्द्र नारायण निधिको ५०औँ वर्ष देखिको एकलौटी राज चलेको शान महतोले तोडिदिएका हुन् । निधिलाई पुर्खौली निर्वाचन क्षेत्र, पटक–पटक निर्वाचित हुँदै आएको निर्वाचन क्षेत्रमा महतोले उनकै ठाउँमा हराइदिए । मेरो विरुद्ध को लड्न आउँछ भन्ने निधिको अंहंकार आफूले तोडि दिएको उनी बताउँछन् ।

मधेश आन्दोलनको असर र प्रभावले मलाई त्यस क्षेत्रमा गई चुनाव लड्न प्रेरित गर्यो, मलाई कहिल्यै पनि चुनाव हार्छु भन्ने पनि थिएन, उनी भन्छन् । त्यसो त उनलाई बिमलेन्द्र निधिसँग प्रतिष्पर्धा नगर्न पार्टीभित्र र बाहिरबाट दवाव त्यत्तिकै थियो तर उनले जिद्धी गरेरै चुनाव लडे र जीत हासिल गरेर सबैलाई गतिलो जवाफ दिए ।

अब फुट होइन जुटमा लागौँ

उनी ३ दाजुभाइ मध्ये माइला छोरा राजेन्द्र महतोका दाइ महेन्द्र महतो पञ्चायतकालमा प्रधानपञ्च, बहुदलीय व्यवस्थामा गाउँविकास समितिको अध्यक्ष र हाल चन्द्र नगरको अध्यक्ष छन् । उनी जन्मिएको ठाउँसमेत मिलाइएको गाउँ पालिकाको अध्यक्ष भएका छन् । यस्तै, उनका कान्छो भाइ इन्जिनियर छन् । इन्जिनियर पेशामा आवद्ध उनका भाइ प्रत्यक्ष राजनीतिभन्दा अलग धारमा छन् ।

महतो आफ्नो ३ दशकको राजनीतिक जीवनमा नेपालका हरेक वर्ग र तहका नागरिकलाई राज्यको मूलधारमा ल्याउन लागि परेका छन् । उनको राजनीतिक जीवनको उद्देश्य भन्नु नै मधेशी , दलित, मुस्लिम, थारु, जनजाति पहाडमा रहने सबै जनजाति, भाषाभाषीहरुमा समान अधिकार स्थापित गर्नु हो ।

सबै नेपाली नेपाली बीचमा कुनै प्रकारको विभेद रहनु हुँदैन, सबै एकै परिवारको सदस्य सरह भइ सिंगो नेपाल पारिवारिक वातावरणमा चल्नु पर्छ भन्ने नै हो ।

देश पनि सबैको, शासन पनि सबैको समान रुपमा रहनु पर्छ । यो देश कुनै एउटा जाति धर्म, समुदाय वर्ग क्षेत्र वा भाषा संस्कृतिको होइन, त्यसैले शासन प्रणालीमा सबैको समान पहुँच हुन जरुरी छ, त्यही नै राष्ट्रवाद हो र राष्ट्रिय हीत पनि यसमै छ – उनी भन्छन् । यही चिन्तनका साथ उनी आफ्नो राजनीति अघि बढाइ रहेका छन् ।

यसकालागि उनी भन्छन्– ‘देशभित्र राष्ट्रको एकता र अखण्डतालाई अक्षुर्ण राख्दै अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु, पहिचानसहितको राज्यका हरेक अंगहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व, सबैको भाषा संस्कृति र भेषभूषाको सम्मान र सम्बर्धन हुनुपर्छ ।’

यही नै हिमाल, पहाड, तराई मधेशको सन्तुलित र समग्र देशको विकासको अचूक औषधी हो । तर, उनलाई चिन्ता के छ भने सुल्टो बाटो नगई उल्टो सोँचका साथ अगाडी बढ्दै गएर हामीलाई असफल पार्ने नाउँमा उठाइएका एजेण्डा र समाधानका उपायहरु र देखाएका बाटाहरु सबै असफल पार्न उद्धत छन्, भन्छन् ।

यदि त्यसो भयो भने यो देश कहाँ पुग्ला ? यसको जिम्मेवार को हुने भन्ने उनको प्रश्न छ । त्यसैले उनको आग्रह छ समय रहँदै शोषण उत्पीडनमा रहेका जनताको धैर्यको बाँध नटुटोस् र समस्याहरुको समाधान होस । उनी भन्छन्–यही नै राष्ट्रको सर्वोपरी हीतमा छ ।

तपार्इको प्रतिक्रिया