सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको घतलाग्दो विगत

नयाँ पाइला
७ महिना पहिले
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको घतलाग्दो विगत

सशस्त्र प्रहरी बलको दशौं महानिरीक्षक हुन् शैलेन्द्र खनाल । नेपाल प्रहरी सेवामा प्रवेश गरेको २५ वर्षमै उनी सशस्त्रको प्रहरी महानिरीक्षक बन्न सफल भए ।

शैलेन्द्र खनाल यस्ता व्यक्ति हुन जो आफ्नै कर्म र सफलताले सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्न सके । उनै खनालको घतलाग्दो जीवन संघर्ष र भोगाईबारे नयाँपाईला डटकमले साक्षात्कार गरेको छ ।

को हुन् शैलेन्द्र ?

गुल्मीको रिडी– ८ मा थातथलो भएका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको जन्म २०२३ सालमा काठमाडौंमा भएको होे । उनका बुवा प्राध्यापक डा. टीकाराम शर्मा खनाल संस्कृत साहित्यमा नेपालको पहिलो विद्याबारिधी उपाधि प्राप्त व्यक्ति हुन् ।

त्यो समयमा शर्माले विद्यावारिधीका लागि बनारस विश्वविद्यालयबाट छात्रवृत्ति पाएपछि शैलेन्द्र पनि बुवासँगै गए । तीन भाइ र एक बहिनीमध्येका जेठा सन्तान खनालले त्यसअघि केही समय गाउँकै स्कूलमा पढेका थिए ।

शर्मा विद्यावारिधीका लागि बनारस गएपछि शैलेन्द्रको औपचारिक विद्यालय शिक्षा पनि बनारसबाटै आरम्भ भयोे । उनको स्कूल जाने ठाउँको नाम दुध विनायक थियो । शिशु कक्षा पढ्न जाँदा त्यहाँका दुध व्यापारीले बोलाएरै दुध खान दिनेगरेको सम्झना उनलार्इ अहिले पनि ताजै छ ।

केही वर्षको बनारस बसाइँपछि उनी बुवासँगै नेपाल फर्किए । बुवाको जागीर काठमाडौंमै भयो । गुल्मीको रिडीबाट खनाल परिवारको बसाइँ भैरहवा सरिसकेको थियो । त्यहाँ ऊ बेला बस्ने घर टाटीले बारेको, माटोको भित्ता, खपटाले छाएको सामान्य थियो । गाउँको गौमत बुद्ध निमाविमा उनले ३ वर्ष खुला आकाश र आँपका रुख मुनि बसेर पढे । बनारसबाट शिशु पास गरेर नेपाल आएका उनी गौमत बुद्ध स्कूलमा २ कक्षामा सिधै भर्ना भएका थिए । कक्षा ४ सम्म उनले त्यहीँ पढे । गाउँको साधारण स्कूल, सानै उमेर, आमाले खरी र सिलेटलाई डोरीले घाँटीमा झुन्ड्याइदिएर स्कूल पठाएको याद उनलाई ताजै छ ।

यात्रा काठमाडौंको

कक्षा ४ पास भएपछि उनी पढ्न काठमाडौं हानिए । गौतम बुद्ध स्कूलमा पढ्दा उनको अंग्रेजी विषयमा राम्रो थियो तर नेपाली साह्रै कमजोर । त्रैमासिक परीक्षामा नेपाली विषयमा कमजोर देखिए तर त्यो कुरा उनले पछि सुधारे । सुरूमा ५ कक्षा काठमाडौंको रत्नराज्य स्कुलमा अध्ययन गरे । त्यहांँ उनको चित्त बुझेन । छोरालाई शिक्षामा अब्बल बनाउनुपर्छ भन्ने मान्यता थियो बुबाको ।

ऊ बेला काठमाडौंमा कहलिएका स्कूलहरु बनस्थली, बुढानीलकण्ठ, आदर्श विद्याश्रम, भानुभक्त, ल्याबोरेटोरी, आनन्द कुटीलगायत थिए । बुवाले उनलाई बनस्थलीमा पढाउने निधो गरे । कक्षा ६ मा भर्ना हुन प्रवेश परीक्षा दिनु पर्थ्यो । त्यतिबेला त्यहाँका प्रिन्सिपल थिए, लक्ष्मण राजवंशी । उनले प्रवेश परीक्षाका रुपमा अंग्रेजीको कुनै किताव पढ्न लगाए । त्यो किताव खरर पढेको देखेर उनीबाट प्रिन्सिपल प्रभावित भए । पछि प्रवेश परीक्षा नदिएरै उनी बनस्थलीमा ६ कक्षामा नाम लेखाएर अध्ययन गर्न थाले ।

खनालले बनस्थलीमा आइएस्सीसम्मको अध्ययन गरे । उनका बुवा त्यही बेला पेशा परिवर्तन गरेर प्रशासनिक क्षेत्रमा लागे । प्रशासनिक क्षेत्रमा लागेकाले बुवा कहिले कहाँ कहिले कहाँ सरुवा भएर जाने भए ।

त्यही कारण खनाल काठमाडौंमा छात्रावासमा बसेर पढे । भाइ भने बुवासँगै सेवारत ठाउँमा गएर पढ्न थाले । पछि बुवालाई भाइलाई सँगै लिएर हिँड्ने अनुकूल नभएपछि भाइ पनि शैलेन्द्रसँगै बसेर पढ्ने भए । भाडाको कोठामा बस्दा खाना बनाउनेदेखि भाइको स्याहार सुसार गर्ने सबै जिम्मा उनकै काँधमा आयो । जे जस्तो पकायो, भाइलाई खुवायो आफू पनि खायो अनि पढ्न गयो ।

भाइ र आफू पढ्ने ठाउँ फरक भएकाले उनलाई भाइको पढाइका बारेमा सवै जानकारी थिएन । एकदिन भाइ स्कूल नगएको जानकारी स्कूलबाट आएपछि उनी सरासर कोठामा पुगे । कोठामा भाइलाई सुतिरहेको पाए । भाइलाई एक झापड हान्दै गाली गरे । झापड हानेपछि भने उनलाई ग्लानी भयो । घरबाट आफूमाथि ठूलो भरोसा गरेर भाइको रेखदेख गर्ने, पढाउने जिम्मा दिइएको थियो । तर, भाइ बिग्रिन लाग्यो अव बर्बाद भयो भन्ने लाग्यो । उनले भाइलाई राम्ररी सम्झाए । पछि भाइले पनि पढाइमा राम्रो गरे ।

शैलेन्द्रलाई आफ्नो काम आफै गर्नु पर्छ भन्ने भावना सानैबाट थियो । बनस्थली पढ्दा खेरी नै उनले आफ्नो पकेट खर्च आफै जोहो गर्ने भइसकेका थिए । उनी गुच्चा खेल्नमा माहिर थिए । गुच्चा खेलेरै आफ्नो खाजा खर्च जुटाउँथे । उनले गुच्चा खेल्न बनारसबाटै सिकेका थिए । घरबाट खाजा खानलाई दिएको पैसाले उनी विभिन्न जासुसी उपन्यासहरु किन्ने र पढ्ने गर्थे । बुवाले दिएको १० रुपैयाबाट उनले रत्नपार्कमा छाप लगाएको १ रुपैयामा पाइने ब्ल्याक सेप्टेम्बर, ब्ल्याक अक्टोबरलगायतका उपन्यास किनेका थिए । ती उपन्यास जासुसी शैलीका हुने भएकाले उनलाई पढ्न साह्रै रुची लाग्थ्यो । उपन्यास पढ्दै गर्दा पात्रकाे रूपमा अाफूलार्इ त्यहीभित्र डुबाइदिन्थे । जासुसी शैलीका उपन्यासमा झुकाव हुनुमा  सायद, बुवा प्रशासनिक क्षेत्रमा भएकाले पनि त्यो प्रभाव परेको हुनसक्छ ।

उनका सानैदेखिका साथी प्रतिक प्रधान (पत्रकार), राजीव सुब्बा (डीआइजी) डा. शुधांशु केसीलगायत हुन् । उनीहरु हरेक कुरामा एक अर्कालाई सहयोग गर्थे, जुन अहिले पनि उनीहरुको बीचमा हुन्छ ।

जागीर र कलेज जिन्दगी

एसएलसी उत्तीर्ण भएपछि उनी नेपाल आयल निगममा ब्याडमिन्टन खेलाडीको रुपमा जागिरे भए । एसएलसीपश्चात् विरामी भएका कारण उनले १ वर्ष पढाई रोक्नु पर्यो । आयल निगममा जागीर गर्दै उनले आइएस्सी पनि सकाए । पछि बिएस्सी पढ्न त्रिचन्द्र क्याम्पसमा भर्ना भए ।

बिएस्सीमा पढ्दा उनको मासिक तलव ३ सय रुपैयाँ थियो । त्यही बेलाबाट उनले आफ्नो खर्च आफै जुटाउन थाले । बुवाबाट विशेष काममा बाहेक अरु काममा उनले कहिल्यै पैसा मागेनन् । आइएस्सी पढ्दा खरदार सरहको तलव खाएका उनको तलव बिएस्सी पढ्दा सुब्बा सरहको थियो ।

बिएस्सी पढ्दाखेरी उनलाई विदेश जाने सोँच पलायो । तर त्यसो हुन सकेन । बिएस्सीमा बायोलोजी लिने सोँच बनाएका उनले चिरफार गर्नुपर्ने, चित्र बनाउनु पर्ने काम ठीक नलागेपछि फिजिक्स, क्यामेस्ट्री तथा गणित विषय लिएर पढे ।

उनको पहिलो वर्षको नतिजा बिग्रियो, उनले ३९ प्रतिशत मात्र ल्याए । उनलाई लाग्यो म बर्बाद भएँ । त्यसपछि घुँडा धसेरै पढे । उ बेला त्यहाँबाट ४ जनाले मात्रै परीक्षा दिएका थिए । दोश्रो वर्षको परीक्षामा मेहेनत गरेपछि ७७ प्रतिशत ल्याएर पास भए । नेपालमा अर्ग्यानिक केमिस्ट्रीमा त्यो बेला उच्च अंक प्राप्त गर्ने उनीसहित अर्का एक साथी मात्रै थिए । पछि उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पनि पूरा गरे ।

ग्याङफाईटमा हारेको क्षण

विद्यार्थीकालदेखि नै साथीभाइ भनेपछि हुरुक्कै हुने उनको स्वाभाव हो । घरपरिवारभन्दा साथीभाइलाई महत्वका साथ हेर्ने उनको बानी अहिले पनि उस्तै छ । विद्यार्थीकालमा उनले एउटा ग्याङ फाईट गरे, अहिले पनि सम्झना छ, त्यो ग्याङ फाईटको । काठमाडौं भर्सेस बाँकी नेपाल जस्तो ग्याङ फाईट थियो । त्याे बेला उनका धेरै साथीहरु घाइतेसमेत भएका थिए ।

ग्याङ फाइट एकजना साथीको गर्लफ्रेन्डका लागि भएको थियो । काठमाडौको समूह ठूलो थियो, तर बाहिरबाट आएका साथीहरु रहेको उनको समूह सानो भएकोले फाइटमा हार भयो । पछि खनाल आफैले दुवै समूहलाई एकै ठाउँमा राखेर मिलाए । तर तत्कालीन फाइट यति भयानक भएको थियो कि, कोही साथीले जिल्ला छाडे, कोहीले देश । त्यसताका कति दिन त किताव बोक्ने झोलामा ढुंगा बोकेर पनि हिँडे ।

त्यसबाहेक छात्रावासमा बस्दा बैतडीतिरको एक जना साथीसँग उनको दैनिक झगडा हुन्थ्यो । तर माया लाग्थ्याे एक छिनमै बोली हाल्थे ।

उनका अधिकांश साथीहरु अरु कलेजका पनि थिए । उनको आफ्नै समूह थियो त्यो बेलामा । कलेज पढ्न जाँदा वा कहीँ जाँदा पनि ४० जनाको समूह नै हिँड्थ्यो । विद्यार्थी राजनीतिमा पनि त्यही समूहको भोट निर्धारक हुन्थ्यो । युनियनको चुनावमा उनीहरुलार्ई सवै विद्यार्थी नेताहरुले त्यही ढंगले व्यवहार हेर्थे ।

प्रहरीमा प्रवेश

विज्ञान अध्ययन गरे पनि चिकित्सक र इन्जिनियर बन्ने उनलाई कहिल्यै रुचि थिएन । तर, विदेश पढ्न जाने भूत चढेको थियो ।
२०४८ सालको कुरा हो, त्यही बेला नेपाल प्रहरीमा भर्ना खुल्यो । उनका केही साथीले आर्मीमा फाराम भर्न भनेका थिए । खासमा उनलाई फोर्सको जागीर खाने इच्छा जागेको थिएन । उनलाई साधारण सरकारी जागीरे हुँला भन्ने भए पनि बन्दुक बोकेरै देशको सेवा गरिएला भन्ने लागेकाे थिएन । त्यही बेलामा उनको साथी प्रतीक प्रधान (हाल पत्रकार) ले प्रहरीमा भर्ना हुन दबाब दिए ।

बिहे

प्रहरी निरीक्षकको लागि तयारी गर्दैगर्दा त्यहीबेला उनकाे विवाहको कुरा चल्यो  । उनलाई बिहेको दबाब दिने तथा केटी हेरिदिने पनि उनकै साथीहरु प्रतिक र सुधांशु हुन् । हुन त घरबाट पनि बिहेको कुरा आएको थियो । आफूले बनाउन चाहेको जीवन संगिनीका बारेमा जानकारी लिएपछि उनी सिधै हात माग्न साथी प्रतिकसँगै गए । उनले केटीको घरमा गएर सबै कुराको बेली बिस्तार लगाए ।

आफू आयल निगमको जागीरे भएको, भर्खरै नेपाल प्रहरीमा आवेदन दिएको, आयल निगमले बोनसकाे रुपमा दिएको ३९ हजार रुपैयाँले मोटर साइकल किनेको, पैतृक सम्पत्ति जे भए पनि आफू खुट्टामा उभिने र स्वाभिमानी बन्ने कुरा सुने पछि उनको कुराले केटी पक्षलाई राम्रो प्रभाव पारेछ । तर यही कारणले म कतै असफल नै हुन्छु कि भन्ने डर पनि थियो । उनको विवाह पनि रोकिएन, निरीक्षकमा पनि उत्तीर्ण भए ।

भर्खरै विवाह भएको थियो अर्कोतिर तालिममा जानु पर्ने बेला आयो । उनलाई सबै व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । तर त्यो बेलामा उनलाई श्रीमतीले धेरै साथ दिइन् । जसका कारण उनी आज सिंगो संगठनको उच्च ओहोदामा पुग्न सफल भएका छन् ।

प्रहरी जीवनको ‘टर्निङ पोइन्ट’

२०५३ सालमा टुरिज्म पुलिसकाे परिकल्पना गरियो । त्यो धारणाको विकास पनि खनालले नै गरेका हुन् । त्यही बीचमा उनी पर्यटन मन्त्रालयको छात्रवृत्तिमा लजिस्टिक म्यानेजमेन्ट पढ्न जर्मन गए । त्यहाँका अध्ययन सकाएर उनी संयुक्त राष्ट्र संघको मिसनका लागि SAT जाँच दिए । सन् २००० उनी कोसोभो पढ्न गए ।

२०५८ सालमा उनको प्रहरी जीवनको ‘टर्निङ पोइन्ट’ आयो । माओवादी द्वन्द्व उत्कर्षमा पुगेको बेला तत्कालीन सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो । युद्धमा भिड्न जानैपर्ने बुझाइ हुँदा बलमा जान प्रहरीहरू आनाकानी गर्थे । प्रहरी र सेनाबाट एक पद बढुवा गरेर सशस्त्रमा ल्याउने सरकारले घोषणा गर्यो ।

खनालले सशस्त्रतिर जाने सोँच बनाए । यसका लागि उनलाई सशस्त्रका तत्कालीन महानिरीक्षक कृष्णमोहन श्रेष्ठले निकै हौसला दिएका थिए । घरमा पनि उनले सरसल्लाह गरे ।

त्यो बेला उनले सिधै प्रहरी नायव उपरीक्षकमा प्रवेश पाए । माओवादीको सशस्त्र द्वन्द्वदेखि डराएर सशस्त्र प्रहरीमा नगएको भए उनी सायदै यहाँसम्म आइपुग्थे होला । २०५८ साल मंसीर ८ गते दाङको घोराहीमा घटना भएपछि उनलाई डिएसपीको रुपमा निमित्त गणपति भएपनि एसपीको जिम्मेवारी सम्हाल्न तनहुँको भानुमा पठाइयो । आफूसँग ४० जना जवान लिएर उनी त्यहाँ गए ।

भर्खर सशस्त्र प्रवेश गरेको बेला नयाँ जोश जाँगर उनमा थियो । युद्धकला लगायत अरु विषयमा आर्मीले तालिम गराएको थियो । कूल १ सय १९ जना रहेको उक्त गणमा उनले सबै नेतृत्व गर्नुपर्ने थियो । तर त्यहाँको अवस्था निकै नाजुक थियो । गणमा भएका जवानहरुले नकारात्मक काम गरेको उनले सुइँको पाए ।

त्यहाँका स्थानीयमा संगठन प्रतिको दृष्टिकोण नकारात्मक बनेकाे थियो । उनले ती सवै कुरा सुधार गरे । समाजसँग गणको दूरी नजिक बनाए । एक अर्कालाई अप्ठ्यारो पर्दा सहयोग आदान प्रदानको भावना जगाए ।

कतिपटक त युद्ध चलिरहेका बेलाराती गणमा जवान कोही नबस्ने भएपछि सिउँडीको काँडाले घेरा बनाएर ट्रेन्च खनेर गणलाई मजबूत बनाएको, कोही भागे सिधै गोली ठोक्ने आदेश दिएपछि सबै त्यहीँ बस्न थालेको सम्झना अझै ताजै छ ।

काम गर्दै जाँदा उनी एआएजी सापको स्टाफ अफिसर भएर पनि काम गरे । सुरक्षा परिषद सचिवालयमा स्टाफ अफिसरको भूमिका निभाए । हरेक काम गर्दा सकारात्मक भाव र विचारका साथ काम गर्ने उनको विशेष बानी छ । उनी आफू मातहतका कर्मचारीमा सकारात्मक सोचकाे विकास गर्ने प्रयत्नमा सँधै हुन्छन् ।

राष्ट्रको सेवक भएर लागेपछि देश र जनतामा आफूलाई समर्पित गर्नु पर्छ भन्ने उनको मान्यता छ । राम्रो काममा पछि हट्नु हुन्न, कसैसँग डराउनु हुन्न भन्ने उनको त्यो चेतनास्तरले सिंगो संगठनलाई होसला जगाएको छ । सतविचार र सतकर्मले देश र जनताको सेवा गर्नु आफ्नो धर्म ठान्छन् उनी ।

संगठनमा बढुवा हुँदै उनी २०६३ मा नायव महानिरीक्षक (डीआईजी) बने । ०७३ असार २ गते एआइजी बने । काम गर्दै जाँदा ०७४ चैत्र २७ सशस्त्र प्रहरी बलको सर्वोच्च निकायमा उनी सिफारिस भए । अहिले उनी सशस्त्र प्रहरी बलको महानिरीक्षक भएका छन् ।

द्वन्द्वकालमा दाह्री पालेकाे लुंगी लगाएकाे सम्झना

सेवामा रहँदा उनले विभिन्न खालका चुनौति सामना गरे । द्वन्द्वकालको समयमा काभ्रेमा रहँदा उनले लुंगी लगाएर, दाह्री पालेर अरुले नचिन्ने भेषमा हिँडेको सम्झन्छन् । फोक्सिङटारमा खटिएका बेला उनले अनौठो रुप धारण गर्नुपरेको थियो । त्यति बेला परिस्थितीले उनलाई कुटनीतिक बनेर जीउन सिकाएको थियो । उनमा त्यो तेजस्वी स्वाभाव भने पक्कै छ जुन युद्धका बेलामा पनि त्यो चातुर्य देखाएरै हिँडे ।

कोहलपुरमा नेतृत्व सम्हाल्न जाँदा भेरी कर्णाली सवै उनकै कमाण्डमा थियो । तर, नेपालगंजमा उनले डीएसपीलाई दिएको कमाण्ड स्वीकार नगरिदिँदा २ जना जवान अनाहकमा शहादत हुनु पर्दाको पीडा उनका लागि जिन्दगीभरको नमिठो घटना लाग्छ । मुलुक आतंकमा परेको बेला उनले जनसम्पर्क विस्तारमा कहीँ चुकेनन् ।

जागीर छाडेर भाग्नेलाई पनि सेवामा प्रवेश गराए । उनीहरुको हरेक समस्यामा सँगै हुनुपर्छ भन्ने कुरामा उनी हेक्का राख्थे, राख्छन् । तल्लाे तहकाे समस्यालार्इ नजिकबाट बुझ्न कतिपटक त जवानसँगै सुतेका छन् ।

भावी योजना

सिंगो संगठनको तल्लो तहसम्म समान रुपमा ध्यान दिनु पर्छ भन्ने उनको उनको सोँच छ । संगठनको नेतृत्व लिइसकेपछि हरेक जवानको वृत्ति विकास होस् या उसको जीवन कसरी सहज बनाउने भन्नेमा उनको हरदम ध्यान गइरहेको छ । लामो समयदेखि रोकिएका बढुवाका कुरा पनि अघि बढाएका छन् । संघीय संरचना अनुसार डीएसपीलाई कमाण्ड गर्ने दायरा बढाएर ५६ ठाउँमा पुर्याएका छन् ।

भनसुनमा विश्वास गर्ने, नराम्रा गतिविधि गर्ने अवस्थाको न्यूनीकरण गरेका छन् । उनले कोही कसैको न्याय मर्नु हुँदैन भन्ने ठान्छन् । बढुवाका लागि तालिमका कुरा हुन् या अन्य कुरा, सबैमा बराबर ध्यान दिएका छन् । देशमा सुशासन ल्याउन चोरी तस्करी न्यूनीकरण गर्नेदेखि जनताको हरेक काममा सँगै रहने दृढ संकल्पमा उनी लागेका छन् । आफूले गर्ने काममा एक सिपाहीले पनि गर्व गर्ने बनाउनु उनको ध्येय हो ।

गठनबाट आफू भोलि विदाइ भएर जाँदै गर्दा पनि हरेक सिपाहीले छाती फुलाएर, ‘सर तपाइँलार्इ धेरै धन्यवाद छ राम्रो काम गर्नु भएकोमा’ भन्न सक्ने आफूलाई बनाउन चाहन्छन् ।

अब आफूले लिने कुरा केही नभएको तर दिने कुरा धेरै भएको उनको भनाई छ । एक सिपाहीले राम्रोसँग काम गर्दा सिंगो देश आरामले बस्न पाउने, सुरक्षित भएको महशुस गर्ने भएकाले उनीहरुको आत्मसम्मानमा विशेष ध्यानदिन आवश्यक ठानेका छन् ।

त्यति मात्रै होइन, आम जनताले सिंगो संगठनलाई उच्च दृष्टिकोणले हेरुन्, युगौँयुगसम्म राम्रो कामको सम्झना गर्न सक्ने होस् भन्नेमा उनको ध्यान छ । जनताका लागि सशस्त्र हो, आफूले भन्ने भन्दा पनि सशस्त्र वास्तवमै हाम्रा लागि हो भन्ने बुझाइको विकास आम जनतामा गराउन जरुरी देखेका छन् ।

उँचनीचको नजरले नहेरी समान विचारले सवैलाई उच्च सम्मानका साथ एउटै धरातल उभ्याउन चाहन्छन् उनी । पदले आफू उच्च ओहोदामा भए पनि, कमाण्डर चिफ भए पनि खनालले आफूलाई एक सिपाही नै ठान्छन् ।

लडाइँको मैदानमा आफूले नि बन्दुक बोक्नुपर्ने सिपाहीले पनि बन्दुक बोक्नु पर्ने भएकाले को के हो भन्ने नै नहुने उनको तर्क छ । ‘दुस्मनको गोलीले आफूलाई चिफ भन्ने तर सिपाहीलाई मात्रै दुस्मन देख्ने हुँदैन त्यसैले सबै एकै हौँ ।’ उनी भन्छन् ।

हालसम्म ३५ वटाभन्दा बढी मुलुकबाट व्यावसायिक तालिम र सीप आर्जन गरेका खनालले सबै ज्ञान, सीप अवको ४ वर्षसम्म संगठनकै लागि सदुपयोग गरेर अघि बढ्ने दृढसंकल्पमा लागेका छन् ।

तपार्इको प्रतिक्रिया