शिक्षक बन्न निस्केकाे थिएँ विद्यार्थी नै छु, सिक्न र गर्न धेरै छन्

नयाँ पाइला
७ महिना पहिले
शिक्षक बन्न निस्केकाे थिएँ विद्यार्थी नै छु, सिक्न र गर्न धेरै छन्

नेकपाका  नेता तथा प्रतिनिधि सभाका सदस्य युवा नेता योगेश भट्टराईको जन्म ताप्लेजुङको साँघुमा भएको हो । उनी बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका हुन् । समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका भट्टराईको वामपन्थी राजनीति प्रतिको झुकाव स्कूल पढ्ने समयमै भएको थियो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमीकै भएकाले उनमा पनि त्यसको प्रभाव परेका हुन सक्छ ।

उनी तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म बनेँ। एमाले प्रचारविभाग प्रमुख तथा केन्दिय सचिव भएर जिम्मेवारी सम्हालेका उनले २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट पनि उम्मेद्वार बने । अहिले उनी प्रतिनिधिसभाको सदस्यका रुपमा ताप्लेजुङबाट प्रतिनिधित्व गरिरहेका छन् ।  

उनै युवा नेता योगेश भट्टराईको राजनीतिक जीवनको जग कहाँबाट कसरी शुरु भयो ? उनले के कस्ता आरोह अवरोह झेल्नु पर्यो भन्ने जिज्ञासाका साथ उनका जीवनका अन्तरंगहरु हाम्रा पाठक सामू ल्याउने उद्देश्यले नयाँ पाइला डटकमले नेता भट्टराईसँग साक्षात्कार गरेको छ ।

मेरो बाल्यकाल  

म (योगेश भट्टराई) ताप्लेजुङ जिल्लाको साँघु गाबिस हालको मैवाखोला गाउँपालिका–३ मा २०२३ साल भदौ २१ गते जन्मिएको हुँ । मेरो प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा भयो । त्यतिबेला गाउँमा सामान्य स्कुलहरु थिए । सात कक्षासम्म पढ्ने स्कुल थियो । हामी दुई तीन कक्षा पढ्दा त धुले स्कुलमै पढ्यौँ । धुले भन्नाले धुलोमा बसेर कखरा लेख्थ्यौँ, त्यस्तै स्कुलमा पढेर आएको म । कक्षा सातसम्म गाउँकै स्कुलमा पढियो ।

हाम्रो परिवार मध्यम वर्गीय परिवार थियो । तर गाउँको हिसाबले अलि सम्पन्न नै भनाैँ, खान लगाउनकै लागि समस्या हुने परिवार थिएन । खासगरि हाम्रो परिवारमा पहिले देखिनै शिक्षाप्रतिको चेतना भएको परिवार थियो । म दुई वर्षको हुँदा मेरो बुवा स्वर्गीय हुनु भएको हो । हामीलाई आमाले नै हुर्काउनु भयो । स्याहार सुसार गर्नु भयो, पढाउनु भयो ।

मैले मेरो बुवा यस्तो हुनुहुन्थ्यो भन्ने कल्पना गर्न सक्दिन तर परिवारमा उहाँको कुरा हुँदा काल्पनिक तस्वीर चाहिँ आउँथ्यो । मैले सुनेअनुसार उहाँ आफ्नो गाउँमा मात्र नभएर एक दुई दिन हिँडेर जानुपर्ने ठाउँ गएर पनि आफूले लगानी गरेर पाठशालाहरु खोल्दै हिँड्ने व्यक्ति हुनुहुन्थ्यो । त्यो बेलाको जमानामा आइसी २० – ३० हजार सहयोग उहाँले गर्नुहुन्थ्यो भन्ने मैले सुनेको ।

सात कक्षासम्म त गाउँमै पढियो अव आठ, नौ र दश कक्षा पढन मैलै जसरी नै गाउँ छोड्नु पर्ने थियो । माध्यमिक तह पढनका लागि त्यतिबेला १३–१४ वर्षको उमेरमा घर छाडेर म संखुवासभा लागेँ । म जाने पढ्न जाने ठाउँको नाम थियो, माहाधि ।
पढ्नु त पर्यो घरदेखि डेढ दिन जति हिँडेपछि त्यहाँ पुगिन्थ्यो । पहाडै पहाड, जंगलै जंगलको बाटो हिड्नु पर्थ्यो । हिउँदमासमा हिउँमा हिँडेर गएको याद अझै ताजै छ मेरो मानसपटलमा ।

हामी दशैं बिदामा घर जाने गथ्र्यौँ । हामी तीन चार जना गाउँकै साथीहरु पढ्नका लागि गएका थियौ । घरबाट फर्किँदा दाल चामल बोकेर लैजान्थ्यौँ। खाना पनि आफै पकाएर खाएको सम्झँदा रमाइलो लाग्छ । हामीले त्यहाँ पढ्दै गर्दा दुईथरी तरकारी कहिल्यै खाएकाे सम्झना छैन, कहिले गुन्द्रुकको झोलसँग भात खाने, कहिले तरकारीमा पानी अलि बढी हालेर झोल बनाएर भात खाने गर्थ्याैँ ।

राजनीतिक  प्रभाव

हामीले माध्यमिक तह पढ्दै गर्दा पूर्वी पहाडमा वामपन्थी आन्दोलनको प्रभाव पर्दै थियो । त्यसको जड थियो, झापा आन्दोलन । २०२७ र २०२८ साल तिर हो , जुन बेला त्यहाँका वामपन्थी कम्युनिष्टहले झापामा एउटा क्रान्तिकारी आन्दोलन उठाएका थिए । त्यसको नेता त अहिलेको प्रधानमन्त्रीनै हुनुहुन्थ्यो,केपी ओली । अनि सीपी मैनाली, मोहनचन्द्र अधिकारी लगाएतका नेताहरु त्यो आन्दोलनको नेता नै हुनुहुन्थ्यो ।

उहाँहरुले झापाबाट आन्दोलनको झिल्को बाल्नुभयो त्यो झिल्कोको प्रभाव पूर्वी पहाडदेखि देशैभरी फैलिँदै थियो । पञ्चायतको दमन पनि त्यही खालको थियो ।
पञ्चायतकालमा त बोल्न पनि नदिने, नयाँ पार्टी खोल्न पनि नदिने, मनमा लागेको कुरा भन्न नदिने स्थिति थियो । यसैले त्यसको विरुद्धमा विद्रोह गर्नैपर्छ भन्ने मानसिकता स्वतः सबैमा जागेकाे थियाे। त्यहि क्रममा पूर्वी पहाडमा पनि शिक्षकहरुले प्रभाव बोकेर हिँडेका थिए ।

त्यतिबेला हरेक विषय पढाउने शिक्षकहरुले पनि वामपन्थीहरुको प्रचार गर्न थालेका थिए, त्यही प्रचारले होला, हामी जस्तो कलिलो मानसपटलमा प्रभाव परेको। पछि ३५–३६ सालतिर नेपालमा विद्यार्थी आन्दोलन पनि उठिरहेको थियो । पाकिस्तानका राष्ट्रपति जुल्फिकर अली भुट्टाेलार्इ फासी भएकाे थियाे । त्यसको विरुद्ध नेपालमा ठूलो आन्दोलन भएको थियो । त्यतिबेलादेखि म पनि जानी नजानी पञ्चायतको विरुद्धमा लाग्न थालें ।

त्यस्ता आन्दोलनमा सहभागी भएँ । त्यतिबेला पार्टी नेकपा माले नै थियो । त्यो पार्टीले भुमिगत भएर काम गरिरहेको थियो । त्यसका संगठकहरु गाउँ गाउँमा थिए, तिनै संगठकहरु गाउँगाउँमा राँको बाल्दै, टर्च बाल्दै बाटोमा लड्दै राति रातिमा हिँडेर बैठक गरेको मलाई अझै पनि याद छ । त्यति बेलादेखिनै म त्यस आन्दोलनमा सहभागी भएँ ।

शिक्षक बन्छु भनेर  काठमाडौं अाएकाे थिएँ

त्यसपछि म ४० सालतिर सिधै काठमाडौं आएँ । काठमाडौंमा पढ्नको लागि महेन्द्ररत्न क्याम्पसमा भर्ना भएँ । म बिस्तारै राजनीतिमा सक्रिय भए पनि मेरो घरपरिवारले मलाई शिक्षक बनाउन काठमाडौं पढ्न पठाएका थिए । म शिक्षक बन्छु भन्ने पनि लागेकाे थियो तर भविष्यले के बनाउँछ भन्ने थाहा हुँदोरहेनछ । शिक्षक बन्न निस्केको म अझै विद्यार्थी नै छु । किनकि राजनीति भन्ने कुरा सँधै सिकिरहने कुरा हो । उ कहिल्यै शिक्षक बन्न सक्दैन, उ विद्यार्थी मात्रै हुन्छ । राजनीतिमा हरेक दिन नयाँ नयाँ कुरा सिकिरहनु पर्ने हुन्छ ।

त्यतिबेला शिक्षक भन्ने बितिकै धेरै सम्मान गर्ने गरिन्थ्यो, किनकि शिक्षकको काम नै असल शिक्षा दिएर सबैलाई अगाडि बढाउनु हो । सायद त्यही भएरै होला मेरो घरमा सधै मलाई शिक्षक बन्नुपर्छ भन्ने मात्र आवाज उठिरन्थ्यो। तर, मलाई राजनीतिमा धेरै रहर पलायो । २०४० सालमा म काठमाडौं आउँदा यता पार्टी र संगठन थियो, गाउँबाटै राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण मलाई काठमाडौं क्षेत्रमा आएर आफूलाई समायोजन गर्न कुनै कठिनाई भएन ।

किनकि मैले गरेको कामको चर्चा भइसकेको रहेछ । जिल्लाबाट एउटा केटो आएको छ ऊ फलानो ठाउँमा पढ्न आएको हो है भनेर साथीहरुले पार्टी र संगठनका साथीहरुलाई सिफारिस गरिसकेका रहेछन् । पछि मलाइ फोन आयो, केही जिम्मेवारी पाइयो, अनि संगठनमा अगाडि बढ्दै गइयो, त्यही क्रममा २०४१ सालमा क्याम्पसमा स्वतन्त्र विद्यार्थीको निर्वाचनमा म अखिलबाट सभापतिमा आफै उठने मनसाय बनाएँ । त्यतिबेला शारीरिक रुपमा पनि म सानै थिएँ ।

म पढ्ने क्याम्पसमा धेरै जानेका बुझेका उमेर पनि परिपक्व भएका साथीहरु थिए । उनीहरुले मलाई यो सानै छ अहिलेनै सभापति नबनाउँदा हुन्छ । उमेरै पुगेको छैन भनेर अर्को कोही साथी सभापति बनाए ।मलाइ उपसभापतिको जिम्मेवारी थमाइदिए ।

तर पछिल्लाे चुनावमा भने सभापति भएँ । त्यो बेला पंञ्चायत विरुद्धको, महंगी बिरुद्धको लगायतका आन्दोलनहरुमा भाग लिदै गएँ विभिन्न बैठक भेलाहरुमा । त्यहि बेला हो सायद पोल्याण्डबाट एउटा विकिरणयुक्त दुध नेपाल भित्रिएको छ भन्ने चर्चा चल्यो, त्यसको विरुद्धमा काठमाडौं लगायत देशैभरी ठूलो आन्दोलन भयो ।

हामी पनि जुलुससहित सडकमा आयाैँ, त्यतिबेला पहिलो पटक मलाइ पुलिसले समात्यो, त्यो बेलामा म १८ वर्षको थिए, त्यतिबेला हनुमान ढोकामा पुलिसको अड्डा थियो । भूकम्पले भत्किएर अहिले तल टेकु सरेको छ । त्यो बेला त्यहाँ अपराधी मान्छेहरु थुन्ने कालो कोठा थियो। त्यहाँ म लगायत केही साथीहरुलाई २ महिना थुनियौँ । अँधेरो बन्द कोठा थियो, भित्ताहरुमा उडुसका बथान थिए त्यो बेला पुलिसले कुट्ने, यातना दिने गर्थ्याे ।

त्यो बेलाका पुलिसको कामै त्यही थियो भनौ, त्यस्तैमा दिनहरु बिताइयो । त्यसपछि हामीलाई केन्द्रीय कारागारमा लगियो, त्यहाँ लगिएपछि मैले केपी शर्मा ओलीलगायत झापा आन्दोलनका नेताहरुसँग जेलमै भेट्ने मौका पाएँ । उहाँहरुलाई भेटेपछि मलाई त युद्ध जितेजस्तो आभाष भयो । पुलिसले निकै कुटेर अर्को जेल पठाएका ठाउँमा अझै कुट्छ होला भन्ने ठानेको थिएँ तर त्यहाँ त कुट्दो रहेनछ भन्ने कुरा त्यहाँ गएरै थाहा पाएँ ।

जेलमा आफ्ना अभिभावक नेताहरु भेटिँदा निकै खुशी लाग्यो । केपी शर्मा ओली, अारके मैनालीलगायतका नेताहरूले हामीलाई देखेर खुसी हुँदै विभिन्न सल्लाह दिनुभयाे। तिमीहरु आयौ हामीले हिम्मत हार्नु हुदैन भन्दै पुलिसले हानेर नील डाम परेको शरीरमा उहाँहरूले नै मालिस गरिदिनुभयो, त्यतिबेला उहाँहरुको माया पाउँदा मेरो आखाबाट खुशिको आँशु झरेको थियो । राजनीतिक हिसाबले उहाँहरुले जेलमै हामीहरुलाई कम्युनिष्ट,मार्क्सवाद लगायतका विषय पढाउनु हुन्थ्यो, सिकाउनु हुन्थ्यो ।

वाममोर्चा र कांग्रेसको संयुक्त आन्दोलन २०४६ सालको कुरा हो मलाई सम्झना छ । फाल्गुन ७ देखि वाममोर्चा र कांग्रेसको संयुक्त आन्दोलन शुुरु भएको थियो । तर, त्याे भन्दा ठीक एक दिनअघि फागुन ६ गते राति नै हामीहरुलाई कीर्तिपुरबाट पुलिसले लगभग पाँच सात सय जनालाई पक्राउ गर्यो । रातारात छापा मारेर भएभरका युवालाई समात्यो । त्यसरी समात्नुको कारण हामीहरुलाई खोज्नु थियो । हामीलाई पुलिस क्लबमा ल्याइयो । पुलिसले खोजेको मान्छे हामी नै थियाैँ, हामीलाई राख्यो र अरुलाई छाडिदियो ।

त्यतिबेला हामी २२ जना थियौँ । त्यसपछि हामीलाई सेन्टर जेलमा लगेर थुनियो । त्यहाँबाट फेरि सिन्धुपाल्चोकको चौतारा जेलमा लगियो । त्यतिबेला ठूलठूला नेताहरुसँग हाम्रो भेट भयो । पद्धमरत्न तुलाधर, अग्नि सापकोटा, हरिबोल भटराई लगायतका नेताहरु त्यहाँ हुनुहुन्थ्यो, । २०४६ को आन्दोलनको क्रममा हामी त्यहीँ थियौँ । २०४६ सालको चैत्र २६ गते बहुदलको घोषणा भयो । घोषणा भएकै राति हामीहरुलाई मुक्त गरियो । हामी भोलिपल्ट काठमाडौं आयाैँ ।

काठमाडौं आउँदा बेग्लै आनन्द भयो, किनकि त्यतिबेला हामीले ठूलो आन्दोलन जितेको महशुस भएको थियो । लाखाैँ लाख मानिस टुँडिखेलमा जम्मा भएका थिए । गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, झलनाथ खनाल जस्ता नेताहरुले त्यहा सम्बोधन गर्नुभयो ।

उपसभापतिदेखि प्रतिनिधि सभा सदस्यसम्म

महेन्द्ररत्न क्याम्पसमा  २०४१ सालमा क्याम्पसकाे स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा म अखिलबाट सभापतिमा आफै उठ्ने मनसाय बनाएकाे थिएँ । तर  साथीहरूले मलार्इ उमेरै पुगेको छैन भनेर अर्को कोही साथि सभापति बनाए ।

मलार्इ उपसभापतिको जिम्मेवारी थमाइदिए । उपसभापतिपछि त्यही क्याम्पसको म सभापति भएँ । यता विद्यार्थी संगठन अनेरास्ववियुमा काठमाडौं जिल्ला कमिटीमा बाग्मती अञ्चल कमिटिहरुमा कुनैमा सदस्य सचिव, कुनैमा अध्यक्ष भएर काम गर्दै गएँ । २०४५ सालको अन्त्य तिर हो, म अनेरास्ववियुको केन्द्रिय कमिटिमा आएँ ।

केन्द्रीय कमिटीको कार्यलय प्रमुख भएर प्रचार विभाग पनि हेरेँ । त्यहाँ म सचिव हुदै महासचिव भएर काम गरेँ । पछि २०५१ सालमा अध्यक्ष भएँ, पार्टीमा पनि काम गर्थेँ क्याम्पसमा पार्टी कमिटी हुन्थ्यो । त्यहाँ बसेर जिल्ला कमिटीको काम पनि गरेँ । २०६२,६३ को आन्दोलनमा म नेकपा एमाले उपत्यकाको सचिव थिएँ । आन्दोलनको समीक्षा गर्ने नेतृत्व मैले पाएको थिएँ । त्यसपछि २०६२ सालमा आठाैँ महाधिवेशन बुटवलमा भयो । आठाैँ महाधिवेशनबाट चुनिएर म केन्द्रीय कामिटीमा आएँ ।

२०७१ सालमा पार्टीको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सचिवमा लडेँ । त्यहाँ पनि मैले जितेँ । दुर्भाग्य भन्नु पर्छ । २०६४ र २०७० मा दुईपटक काठमाडौंबाट संसदीय चुनावमा उठेँ तर विभिन्न कारणले जित्न सकिन ।

त्यसपछि म आफू जन्मेकै जिल्ला ताप्लेजुङमा गएर संसदीय चुनावमा उठेँ त्यहाबाट भने मैले जितेँ । अहिले प्रतिनिधि सभाकाे सदस्यकाे हैसियतमा जिम्मेवारी सम्हालि रहेकाे छु ।

विद्यार्थी काल, सपना र अभाव

बिद्यार्थीसँग कति नै पैसा हुन्छ र ? त्यतिबेला घरबाट पनि कति पैसा दिन्थे भन्ने हो । काठमाडाैँमा डेरामा बस्दा म पहिलो पटक बागबजार बसेको हुँ । हामी तीन जना एउटै कोठामा बस्थ्याैँ । कोठाको भाडा ३ – ४ सय कति रुपैया थियो । कोठा पनि सानो, पानी पनि बेला बेला नआउने, पानी धेरै खर्च गरे घरबेटी कराउँथे । पाहुना आए कचकच गर्थे, चर्पी पनि त्यो घरमा बस्ने सबैको लागि एउटै थियो ।

सानो कोठामा सुत्ने, खाना पनि त्यहीँ पकाउने पढने त्यहीँ पकाएर खाएर गुजारा गथ्र्यौँ । मट्टीतेलवाला स्टोभ बालेर खाना पकाउँदा कोठाभरी मट्टीतेल गन्हाउने, कोठा धुवाँ धुवाँ हुने गर्दथ्यो । त्यसैक्रममा पछि म होस्टेलमा पनि बसेँ । मलाई याद छ, त्यतिबेला महाबौद्धमा साढे दुई रुपैयाकाे एक प्लेट मःम पाइन्थ्यो । तीन चार प्लेट मःम खाइन्थ्यो । मम पनि कुखुरा, खसीको पाउन मुस्किल हुन्थ्यो । राँगाको मात्र मःम पाइन्थ्यो, त्यही मःम खायो अनि भोक टार्यौ । अझै भन्नुपर्दा कहिले काहीँ तरकारी भन्दा पनि राँगाको मासुको सस्तोमा पाइने भएकोले होला हाम्राेमा त्यसैकोे तरकारी धेरै पाक्थ्यो ।

लगाउने कपडाको हविगत पनि त्यही हो ।जहाँ जहाँ सस्तोमा पाइन्छ, त्यहीँ गएर किन्यो, लगायो ।अहिलेको जस्तो सुपरमार्केट थिएनन्, उ बेलामा । अलि राम्रो लुगा पाउने भनेको न्यु रोडमा धेरै खोजेपछि पाइन्थ्यो ।क्याम्पस जाँदा आउँदा यसो हेर्दा डमीमा झुन्डाएको लुगा हेर्यो, कति चितिक्कै परेको छ है भन्यो । ओहो, यस्तो लुगा लगाउन पाएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्ने । अनि एकपटक त हेरौँ न त ? कति पो पर्ला भनेर सोध्न गयो, मुल्य सोध्यो ।

त्यतिबेलाको तीन चारहजार पर्छ भनेको सुन्दा होस नै उड्थ्यो । त्यति महंगो मुल्य तिरेर कपडा लाउन सक्ने हामी भइ सकेका थिएनौँ । पसलबाट खाली र्फिता हुन पनि अप्ठेरो लागेर पसलवालालाई हामी हेर्न आएका हौँ । फेरी अर्को पटक आउछाैँ भनेर निस्किन्थ्याैँ ।

हामीसँग तेत्रो पैसा तिर्न सक्ने क्षमता थिएन । एउटा साथीले भन्थ्यो, यो उमेरमा जे खाएपनि हुने, जस्तो खाएपनि हुने, जति खाएपनि हुने तर के गर्नु ? किनेर खान सक्ने क्षमता हुदैनथ्यो । अब अहिले किनेर खान सकिन्छ तर शरीरमा विभिन्न थरीका रोगले ग्रस्त पारेको छ ।

वैवाहिक जीवन

मेरो पारिवारीक सम्बन्ध र बिहेको सम्योग यस्तो छ । मेराे मिसेसको घर पनि ताप्लेजुङ नै हो । मेरो र उहाँको घर वल्लो गाउँ र पल्लो गाउँ हो । उहाँ काठमाडौंको नरसिंह क्याम्पस, महाराजगंजमा पढनु हुन्थ्यो । हामी प्राय काठमाडौं सँगै आउने जाने गथ्र्यौँ । गाउँमा पनि मेलापातमा जाँदा बीचबीचमा भेट हुन्थ्यो । पछि एकअर्का प्रति नजिक हुँदै गइयो । धेरै वर्षसम्म प्रेममा परिएन, यसो मन पराएजस्तो भयो, एक अर्काको प्रस्ताव एकापसमा आदान प्रदान भयो ।

आ आफ्नो अभिभावकलाई घरमा भनियो , विहेको प्रस्ताव स्वीकृत भयो अनि बिहे भयो । आज हामी जहाँ छौँ, जे काममा लागेका छौँ । यी सबै कुराको श्रेय मेरी आमालाई जान्छ ।आमाले जन्माउन त धेरै जन्माउनु भयो तर हामी बाँचेका भनेका हामी दुई भाइ म भन्दा अगाडि एकजना दाइ हुनुहुन्छ । तीन जना दिदीबहिनी हुनुहुन्छ । मलाई यहाँसम्म ल्याउन मलाई मेरी आमाले धेरै दुःख गर्नुभएको हो ।

त्यसपछि मेरो नै श्रीमती हो । मलाई खाजा खाने पैसा, कहीँ कतै जाँदा गाडी चढ्ने पैसा नहुँदा पछिल्लो समयमा खर्च टार्ने नै मेरी श्रीमतीले हो । सायद उनीहरुले यसरी मलाई सहयोग र साथ नदिएको भए म आज यहाँ यसरी यो हैसियतमा तपाइँहरुसँग बोल्न सक्ने हुने थिएन होला जस्तो लाग्छ ।

राजनीति प्रतिको समर्पण

अहिले पार्टी ठूलो भयो, खुल्ला भयो । त्यो बेला पार्टीमा लाग्नु भनेको मर्न लाग्नु जस्तै थियो । त्यतिबेलाको राजनीतिमा एक किसिमको बलिदानी र त्यागको भावना थियो तर अहिलेको राजनीति भनेको बलिदानी त्याग होइन ।सकारात्मक तरीकाले हेर्ने हो भने त अझै पनि राजनीति भनेको त्याग तपस्या र बलिदानी नै हो तर अवसरका रुपमा हेर्ने हो भने सबैले बाँडीचुडी खाने नै हो ।

हिजो एउटा साथी जेल जाँदा म पनि जानुपर्छ भन्ने थियो । साथी मर्न तयार हुँदा म पनि मन तयार छु भन्ने थियो । त्यहि लाइनमै बसिन्थ्यो तर आजका दिनमा जेल जान, मर्न तयार कुनै पनि पार्टी आउनुपर्ने आवश्यक छैन ।

पार्टी भनेको नागरिकका सपनाहरु कार्यान्वयन गर्ने माध्यम नै हो । जसबाट तपाई जुन उद्देश्य लिएर हिड्नुहुन्छ त्यो उद्देश्य पुरा पनि पार्टी वा संगठनबाटै सम्भव हुन्छ । अर्को कुरा अहिले पार्टीभित्र पनि बिकृति बिसंगति बढेको छ । यो सबै अवसरको खोजीमा हिड्नाले नै हो । पार्टीलाई गलत ढंगले प्रयोग गरेरै हो । व्यापार व्यवसाय गरेका मान्छेहरु पनि राजनीतिमा आएका छन् ।

यसको मतलब के हो भने, उनीहरु राजनीति नबुझेरै टुप्पाबाट राजनीतिमा लागिरहेका छन् । जो फेदबाट राजनीतिमा आउँछ ऊ बलियो हुने र टिक्ने हिसाबले आउँछ र टिक्छ पनि । जो टुप्पाबाट राजनीतिमा आउँछ ऊ त्यति बलियो, देश र जनताप्रति बफादार भएर टिक्न सक्दैन ।

विगत र वर्तमानलाई नियाल्दा

हिजोका दिनहरु निकै रमाइला दिन भनौँ । अग्रजहरुले राजनीतिज्ञहरुले कति दुख पाउनु भयो, हामीले त के दुख पायाैँ भन्ने हो । धेरै नेताहरु बन्द कोठामा थुनिनु भयो, घरपरिवार आफन्त नभनेरै मृत्युसंँग नडराएरै देश र जनताका लागि लडिरहनु भयो ।

त्यतिबेला नेताहरुको टाउकोको मूल्य नै तोकिएको थियो । उहाँहरु आफ्नो जीवन जोखिममा पारेर लाग्नुभएको हो । नेल्शन मन्डेला २७ वर्ष जेल बस्नुभयो, उहालाई सम्झिँदा हामीलाई उत्साह हुन्छ, सिकाइ हुन्छ ।

तर पनि हामी अलि कति प्रयासबाटै यहाँसम्म आयौँ । हामीलाई यहाँसम्म ल्याउने भनेकै ती दिनहरु हुन् । हिजोका दिनमा पार्टीभित्र एकता बलियो थियो । अलग–अलग परिवार र समुदायबाट आए पनि हामी एउटै परिवार जस्तै थियौँ ।

हामीबीच मित्रता प्रगाढ थियो । आजको राजनीतिले हाम्रा आदर्श बिभाजित भएका छन् । मित्रता बिभाजित भएका छन् । त्यसैले पहिलेको राजनीति रमाइलो र उद्देश्यपरक थियो ।

राजनीतिमा नयाँ पुस्ताको दृष्टिकाेण

युवा भनेको साेँच र गतिशिलता हो । वर्तमान राजनीतिमा युवा आउनै पर्छ भन्छु म । ५० वर्ष उमेरमाथि भएकाहरु राजनीतिमा बढि सक्रिय होलान् कि त्यहाँभन्दा कम उमेर भएकाहरु राजनीतिमा बढि सक्रिय होलान् ? अवश्य पनि कम उमेर भएका युवाशक्ति नै बढी क्रियाशिल र सक्रिय हुन्छन् । नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ भन्दै गर्दा हिजो जेल बसेकाहरु जस्तै अहिले राजनीतिमा सक्रिय हुने युवाशक्तिहरु अब आउदैनन् ।

अहिलेका केही पढेका, केही बुझेका युवाहरु मुलतः पढेर अनुभव लिएर आएका पुस्ताहरु राजनीतिमा आउन जरुरी देख्छु । किनभने अहिलेको पुस्ता ज्ञान र विज्ञानले भरिपूर्ण छ । तर, आजको नयाँ पुस्तामा ज्यादा उपभोक्तावादी चिन्तन छ ।

अलि ज्यादा आत्माकेन्द्रित छ । अहिले बजारले नै मान्छेलाई आत्माकेन्द्रित बनाइदिएको छ । बाँच्नको लागि संघर्ष गर भनेजस्तै आफु बाँच्नको लागि त संघर्ष गर्नुपर्छ । समाजको अंग म हुँ भन्ने कुरा कम बुझेको पो छ कि आजको नयाँ पुस्ताले ? त्यसकारण आफूसँग भएको प्राविधिक ज्ञान, सैद्धान्तिक ज्ञान आजको विश्व अनुभवलाई युवापुस्ताले आफुभित्रको गलत संस्कृति पुरातनवादी चिन्तनबाट अलि कति मुक्त बनाउन जरुरी छ । देशको राजनीतिमा र अरु जुनसुकै क्षेत्रमा नयाँ पुस्ताको हस्तक्षेप बढदै छ यसले हाम्रो लागि नयाँ परिणाम ल्याउदैछ भन्ने सबैसामु नयाँ सन्देश जान्छ ।

 

तपार्इको प्रतिक्रिया